
पोखरा स्पोर्ट्स । फुटबलमार्फत सामाजिक सेवामा निरन्तर क्रियाशील सहारा क्लब पोखरालाई मानिसहरुले विभिन्न तरिकाले सहयोग गर्न लालायित छन् । पछिल्लो समय एक जना ज्येष्ठ नागरिकले वृद्धभत्ता वापतको रकम नै क्लबले संचालन गरेको सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमीलाई प्रदान गरे ।
उनी हुन्, पोखरा ९, बसपार्क निवासी ८० वर्षीय एकप्रसाद थापा मगर । पोखराको बसपार्कमै आजभन्दा झण्डै ३० वर्षअघि स्थापना भएको सहारा क्लब पोखराको गतिविधि विगतदेखि नियालिरहेका थापाले क्लबको कार्यको उच्च प्रशंसा गर्दै वृद्धभत्ता दिएको बताए ।
दोबिल्लास्थित एकेडेमीमा हालै आयोजित कार्यक्रममा उनले वृद्धाभत्ताबाट १६ हजार ६ सय बराबरको खाद्यान्न सामग्री एकेडेमीलाई सहयोग गरेका हुन् । एकेडेमीमा हाल चौंथो ब्याचको रुपमा विभिन्न जिल्लाका ३० जना बालकहरु आश्रित छन् । उनीहरुलाई निःशुल्क आवासीय सुविधासहित शिक्षा, दीक्षा तथा फुटबल सिकाउने गरिएको क्लब अध्यक्ष केशवबहादुर थापाले बताए ।
सहयोग हस्तान्तरण क्रममा एकप्रसादका परिवारका सदस्यहरु पनि उपस्थित थिए । उनकी पत्नी राधा थापा मगर, दिदी सासू पदमकुमारी थापा, छोराबुहारी केशवबहादुर/विष्णु थापा, भाइबुहारी लीलबहादुर/रुमा थापामगर, छोरी-ज्वाइँ सुशीला/सुकबहादुर मगर, छोरीहरु मनकुमारी थापा, इन्द्राकुमारी थापा राई र नाति सिद्धान्त थापा मगरको उपस्थिति थियो ।
सबै जनालाई क्लबका पूर्व अध्यक्ष विक्रम थकालीले खादा तथा एकेडेमी संयोजक विष्णु गुरुङले फूलगुच्छाद्वारा स्वागत गरेका थिए । सोही अवसरमा पोखरा १७, फेवा फान्ट निवासी विसन राना, रुपा रानाले छोरा नियोनको ११औं जन्मदिन अवसरमा बालकहरुलाई ३२ थान सिन प्याड, ३२ जोर मोजा प्रदान गरेका थिए।
सहारा क्लब हङकङ महासचिव गुरुङले निकट भविष्यमा बालकहरुलाई फुटबल ड्रेस उपलब्ध गराउने बताए । कार्यक्रम सञ्चालन क्लब सचिव ज्ञानेन्द्र गुरुङले गरे ।
यसैबीच, क्लब हाल २५औं आहा रारा पोखरा गोल्ड कपको तयारीमा छ । सो प्रतियोगिता आगामी माघ २७ देखि फागुन ९ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुनेछ ।
