गण्डकी प्रदेश टेनिस संघद्वारा सञ्चालित ‘ग्रो टेनिस ट्यालेन्ट हन्ट’का दाताहरु सम्मानित

पोखरा स्पोर्ट्स । गण्डकी प्रदेश टेनिस संघद्वारा सञ्चालन गरिएको ‘ग्रो टेनिस ट्यालेन्ट हन्ट’ कार्यक्रमलाई सहयोग गर्ने दाताहरु सम्मानित भएका छन् । संघले पोखरामा आयोजना गरेको एक भव्य कार्यक्रमका बीच ग्रो टेनिस ट्यालेन्ट हन्ट’ विकासमा योगदान पुर्‍याउने विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरिएको हो ।

टेनिस खेलको दीर्घकालीन तथा दिगो विकासका लागि बहुआयामिक र महत्वाकांक्षी योजनाअन्तर्गत सञ्चालनमा ल्याइएको उक्त कार्यक्रम अन्तर्गत ३०६ बालबालिकाबाट छनौट गरी ८ देखि १२ वर्ष उमेर समूहका ११ जना बालबालिकालाई टेनिस प्रशिक्षण, औपचारिक शिक्षा, खेल सामग्री तथा आवश्यक संरक्षणसहित कार्यक्रमको सुरुआत गरिएको हो । आर्थिक रूपमा कमजोर तर प्रतिभाशाली बालबालिकालाई लक्षित यस कार्यक्रमले ८ वर्षमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने लक्ष्य लिएको संघले जनाएको छ ।

‘ग्रो टेनिस ट्यालेन्ट हन्ट’ कार्यक्रमका दाताहरु
नेपाली घर होटल (काठमाडौँ), सोमबहादुर लालचन (काठमाडौँ),, भाटभटेनी सुपरमार्केट, किशोर गुरुङ (हङकङ), केसी ग्रुप (सूर्य/प्रेम ट्रष्ट), उत्तम कुमार शेर्पा (काठमाडौँ), बीवाईडी नेपाल, रोविन शेरचन (जापान), बिनोद कायस्थ (पोखरा), डा. मनिष किरण श्रेष्ठ, डा.दिलास्मा घर्ती मगर, डा. मान गुरुङ, डा. देव थापा तथा प्रशिक्षकहरु अनु जोन, कुमार अधिकारी, निरज थापा, शक्ति शर्मा, अनिल साई, जितेन्द्र परियार र महेश्वर तिवारी रहेका छन् ।

कार्यक्रममा सहयोग पुर्‍याउने समाजका विभिन्न क्षेत्रका ११ जना उद्योगी, व्यवसायी, चिकित्सक तथा प्रशिक्षकहरुलाई गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले प्रशंसापत्र प्रदान गर्दै सम्मान गरे । सो अवसरमा मन्त्री थापाले खेलकुदमार्फत अनुशासित, सक्षम र प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न यस्ता कार्यक्रम अत्यन्त आवश्यक रहेको बताउँदै निजी क्षेत्र, संघ–संस्था र व्यक्तिको सहकार्यबाट खेलकुद क्षेत्रले उल्लेखनीय फड्को मार्न सक्ने धारणा व्यक्त गरे । उनले प्रदेश सरकार खेलकुद विकासमा आवश्यक सहयोग गर्न सदैव प्रतिबद्ध रहनेसमेत उल्लेख गरे ।

गण्डकी प्रदेश टेनिस संघका अध्यक्ष बिनोद कायस्थले ‘ग्रो टेनिस ट्यालेन्ट हन्ट’ कार्यक्रम केवल खेल प्रशिक्षणमा सीमित नभई बालबालिकाको शैक्षिक, शारीरिक तथा मानसिक विकासलाई समेत समेट्ने गरी सञ्चालन गरिएको बताए । उनले दाताहरुको निरन्तर सहयोगले कार्यक्रमलाई दीगो बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै आगामी दिनमा अझ धेरै बालबालिकालाई समेट्दै कार्यक्रम विस्तार गर्ने योजना रहेको जानकारी दिए । साथै, उनले टेनिसको दिगो विकासका लागि संघ अन्य कार्यक्रमसहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा अग्रज समाजसेवी तथा शिक्षासेवी उत्तम कुमार शेर्पाले पोखराको टेनिस अभियानले समाजलाई सकारात्मक दिशातर्फ डोर्‍याएको उल्लेख गर्दै यस किसिमको पहल प्रशंसनीय र परिणाममुखी रहेको बताए । उनले पोखरामा आएर यस अभियानसँग जोडिन पाउँदा गर्व महसुस भएको प्रतिक्रिया दिए ।

त्यस्तै समाजसेवी तथा केसी ग्रुपका प्रवन्ध निर्देशक किरण केसीले आफ्नो बुवाको पदचाप पछ्याउँदै सामाजिक उत्तरदायित्वमा जोडिँदै आएको बताउँदै गण्डकी टेनिसले सुरू गरेको अभियानमा सहभागी हुन पाउँदा खुसी लागेको जनाए ।

पूर्व नं. १ टेनिस खेलाडी तथा प्रशिक्षक जितेन्द्र परियारले गण्डकी टेनिसले नेपाली टेनिसको विकासका लागि सुरू गरेको अभियानमा साथ दिन पाउँदा गर्व लागेको बताउँदै यस कार्यक्रमबाट भविष्यमा थुप्रै प्रतिभावान खेलाडीहरु उदय हुनेमा आफू विश्वस्त रहेको धारणा राखे ।

सम्मानित दाताहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत खेलकुद तथा टेनिस विकासमा सहयोग गर्न पाउँदा गर्व लागेको प्रतिक्रिया दिँदै आगामी दिनमा पनि निरन्तर सहयोग रहने प्रतिबद्धता जनाएका छन् ।

गण्डकी प्रदेश टेनिस संघका अध्यक्ष कायस्थको अध्यक्षतामा सम्पन्न सम्मान कार्यक्रममा संघका उपाध्यक्ष लोकबहादुर गुरुङ, महासचिव नविन चालिसे, कास्की जिल्ला टेनिस संघका अध्यक्ष राजकुमार गुरुङलगायतले मन्तव्य राख्दै दाताहरुको सहयोगले टेनिस विकासमा नयाँ आयाम थपिएको बताएका थिए ।

कार्यक्रममा खेलप्रेमी, प्रशिक्षक, अभिभावक, खेलाडी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

योसँगै गण्डकी टेनिसले ग्रासरुट टेनिस कार्यक्रमलाई समेत निरन्तरता दिइरहेको छ । जस अन्तर्गत ३० जना विपन्न वर्गका बालबालिकाहरु समेटिएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close