
पोखरा स्पोर्ट्स । तेक्वान्दोकी सीनियर खेलाडी रेख माया गुरूङ र टेनिसकी उदीयमान खेलाडी सिवाली गुरूङ लाई तमु धि यूके ले सम्मान गर्ने घोषणा गरेको छ । उनीहरूलाई संस्थाको तर्फबाट प्रदान गरिने तमु प्रतिभा पुरस्कार अन्तर्गत जनही नगद ५०–५० हजार रुपैयाँ सहित सम्मान गरिने भएको हो ।
तेक्वान्दो क्षेत्रमा लामो समयदेखि सक्रिय रेख माया गण्डकी प्रदेश खेलकुद परिषद्की सदस्य समेत हुन् । उनी हाल पोखरामा एब्सोल्युट तेक्वान्दो सञ्चालन गर्दै खेलाडी उत्पादनमा योगदान दिइरहेकी छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेकी रेख मायालाई तेक्वान्दो क्षेत्रमा निरन्तर योगदान पुर्याएको कदरस्वरूप यो सम्मान प्रदान गर्न लागिएको हो ।
त्यसैगरी, १४ वर्षीया टेनिस खेलाडी शिवाली नेपाली टेनिसकी उदीयमान प्रतिभा हुन् । शिवाली आगामी जनवरी २०२६ मा अस्ट्रेलियामा आयोजना हुने एलिट अस्ट्रेयिन ओपन प्रतियोगितामा सहभागिता जनाउने पहिलो नेपाली खेलाडी समेत हून । कम उमेरमै अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धासँगै नेपाली टेनिसमा उनले लगातार प्राप्त गरेको उनको उपलब्धिलाई उच्च मूल्याङ्कन गर्दै तमु धि यूकेले सम्मान गर्ने निर्णय गरेको हो । उनले हालै पोखरामा सम्पन्न आइटिएफ़ जे३० मा दोहोरो स्वर्ण जित्दै च्याम्पियन भएकी थिइन् ।
तमु धि यूकेले नेपाली खेलकुद, कला र संस्कृतिमा योगदान पुर्याउने प्रतिभाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले हरेक वर्ष तमु प्रतिभा पुरस्कार प्रदान गर्दै आएको छ । यस वर्ष दुई महिला खेलाडीलाई चयन गरिनु नेपाली खेलकुदका लागि गर्वको विषय भएको खेलकुदकर्मीहरूले बताएका छन् ।
