
पोखरा स्पोर्ट्स । पोखरामा बुधबारदेखि १६औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिता सुरु भएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतियोगिता पौष ११ गते सम्म सञ्चालन हुने छ ।

प्रतियोगिताको पहिलो दिन एथलेटिक्स ट्रयाक एण्ड फिल्डका १०० मिटर, १५०० मिटरका फाइनल स्पर्धाहरु सम्पन्न भएका छन् ।
छात्र १५०० मिटर दौडमा कालिका माविका सुजन नेपालीले स्वर्ण, बालोदयका तेन्जोन रोका मगरले रजत, पश्चिमाञ्चल माविका रोशन पन्थ काश्य पदक जिते भने छात्रातर्फ छोरेपाटन माविकी नारायणी भण्डारी स्वर्ण, साधना परियार रजत र गौरी शंकर माविकी कविता मगरले काश्य पदक जितिन् ।
सो प्रतियोगिताको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले खेलकुद व्यवसायिक बन्दै गएको बताउँदै खेलकुदले देशलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउने काम गरेको उल्लेख गरे ।
त्यस्तै, पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङले क्षेत्रफलको हिसाबले सबैभन्दा ठूलो महानगरका रुपमा रहेको पर्यटनको राजधानी सहर पोखरालाई खेलकुदको सहरको रुपमा स्थापित गर्नुपर्छ भन्ने उद्देश्यसहित पोखरा महानगरले काम गरिरहेको बताइन् । विद्यालय तहका बालबालिकाहरूको सर्वाङ्गीण विकासमा खेलकुदको भूमिका महत्वपूर्ण हुने भएकाले खेलकुदलाई प्राथमिकतामा राखेर अघि बढिरहेको बताइन् ।
कार्यक्रममा पोखरा महानगर शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले व्यक्तिगत स्वास्थ्यमात्र नभई समाजलाई नैतिकवान्, मूल्यवान, सशक्त र एकताबद्ध बनाउन खेलकुदको महत्वपूर्ण भूमिका रहने बताए । उनले प्रतियोगितामा सहभागी विद्यार्थीहरूलाई अनुशासित बनेर खेल्न आग्रह गरे ।
पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपक बहादुर गोदारले प्रतियोगितामा कुल ४ सय ४ पदकका सामुदायिक तथा संस्थागत विद्यालयका ३ हजार भन्दा बढि विद्यार्थीले प्रतिष्पर्धा गर्ने जानकारी दिएका छन् ।
प्रतियोगितामा उसु, कराँते, तेक्वान्दो, भलिबल, कबड्डी र एथलेटिक्स गरि ६ वटा विधा समावेश गरिएको छ । महानगरले प्रतियोगितामा बिजेताहरुलाई नगद समेत प्रदान गर्ने घोषणा गरेको छ । महानगरले जारी प्रतियोगिता सम्पन्न गर्न ३५ लाख विनियोजन गरेको छ ।
