
पोखरा स्पोर्ट्स । २५औं आहा रारा पोखरा गोल्ड कप–२०८२ फुटबल प्रतियोगिता सफल पार्न विभिन्न समिति गठन गरिएको छ । सहारा क्लब पोखराको आयोजनामा आगामी माघ २७ देखि फागुन ९ गतेसम्म पोखरा रंगशालामा प्रतियोगिता सञ्चालनका लागि लागि मुल आयोजक समितिका संयोजक बाहेक अन्यलाई गत संस्करणमा जस्तै निरन्तरता दिइएको छ । गत अधिवेशनमा अध्यक्षमा थापा निर्वाचित भएसँगै उनी मुल आयोजक समितिको संयोजक तोकिएका हुन् भने अन्य उपसमितिहरु गत संस्करणहरुमा जस्तै समान छन् ।

क्लबले अध्यक्ष केशबबहादुर थापाको अध्यक्षतामा ३०१ सदस्यीय मूलआयोजक समिति तथा ५१ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । साथै, महासचिव गंगाराज पौडेल सदस्यसचिव र वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङलाई प्रतियोगिता संयोजनमा मनोनयन गरिएको छ ।
यसैगरी, विभिन्न १८ उपसमिति पनि गठन गरिएको छ । क्लबका पूर्व अध्यक्ष, मानार्थ सदस्य एवं सल्लाहकारहरुलाई उपसमितिको संयोजकको जिम्मेवारी दिने निर्णय गरिएको क्लब अध्यक्ष एवं मूल आयोजक समिति संयोजक केशवबहादुर थापाले जानकारी दिए ।
सल्लाहकारमध्ये अर्थ संकलन व्यवस्थापन उपसमिति संयोजकमा सुनिलकुमार गुरुङ, प्रचारप्रसार संयोजकमा दीपेन्द्र श्रेष्ठ, शान्तिसुरक्षामा टीकाबहादुर कार्की र अतिथि सत्कारमा गणेशबहादुर भट्टराई संयोजक चयन भएका छन् ।
यसैगरी, सहभागी टिम सम्पर्क उपसमिति संयोजकमा पूर्व अध्यक्ष विक्रम थकाली, स्वयंसेवक परिचालनमा संस्थापक अध्यक्ष वसन्त थकाली, प्राविधिक एवं अनुशासनतर्फ मानार्थ सदस्य खेमबहादुर गुरुङ, आवास व्यवस्थापनमा मानार्थ सदस्य मुछेत्र गुरुङ, मञ्च व्यवस्थापनमा मानार्थ सदस्य प्रकाश शेरचन, प्राथमिक उपचारमा सल्लाहकार डा.रवीन्द्रप्रसाद श्रेष्ठ, विद्यालय समन्वयमा मानार्थ सदस्य जयलाल पुन संयोजक चयन भएका छन् ।
सचिवालय, शिल्ड, मेडल, ट्रफी, प्रमाणपत्र व्यवस्थापनमा निवर्तमान अध्यक्ष केशवराज बराल, आयोजक टिम तयारीमा पूर्व अध्यक्ष हरिराम गुरुङ (सुरज), टिम लियाजन व्यवस्थापनमा मानार्थ सदस्य लोकबहादुर गुरुङ, यातायात व्यवस्थापनमा पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालि अध्यक्ष ऐनकुमार शाही, संघ संस्था एवं शाखा समन्वयमा पूर्व अध्यक्ष वीरभद्र आचार्य, खेल मैदान व्यवस्थापनमा जिल्ला खेलकुद विकास समिति कास्की अध्यक्ष मिलन गुरुङ र अनुगमनमा मानार्थ सदस्य नारायण कार्की छन् ।
क्लब अध्यक्ष केशवबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले प्रतियोगिताको रजत महोत्सव अवसर विभिन्न कार्यक्रमहरु समावेश गरी भव्य रुपमा मनाउने निर्णय गरेको छ । बैठकमा स्वागत एवं प्रतियोगिताबारे बृहत् जानकारी वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङले गराएका थिए भने संचालन महासचिव गंगाराज पौडेलले गरे ।
बैठकमा क्लबका मानार्थ सदस्यहरु, सल्लाहकारहरु, युकेबाट नेपाल आएको सहारा युकेका सल्लाहकारहरु साथै क्लबका पदाधिकारी एवं कार्यसमितिका सदस्यहरुको उपस्थिति थियो ।
रजतवर्षमा टेकेको आहा रारा पोखरा गोल्डकपले नयाँपन दिने गरी अघि बढ्नु पर्ने धेरैको सुझाव समेत रहेको छ । रजत वर्ष विशेष महत्व राख्ने भएकोले पनि अझै वृहद बनाउँदै अघि बढ्नु पर्ने सँगै गण्डकी प्रदेशमा खस्किदै गएको फुटबललाई सहारा क्लबले नेतृत्वदायी भूमिका प्रदान गर्नुपर्नेमा सबैको जोड रहेको छ ।
क्लबले प्रतियोगिताबाट बचत रकम पोखरा–१७, दोबिल्लास्थित सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमीका बालकहरुको लागि खर्चिदै आएको छ । एकेडेमीमा हाल विभिन्न जिल्लाका ३० जना बालक आश्रित छन् । उनीहरुले निःशुल्क आवासीय सुविधासहित शिक्षा, दीक्षा एवं फुटबल सिकिरहेका छन् ।
