१८औं हिसान कास्की स्पोर्ट्स मिटको उद्घाटन भब्य समारोहका बीच सम्पन्न, प्रतियोगिता जारी

वर्ल्ड च्याम्पियन शर्मिला नगद २५ हजारसहित सम्मानित

पोखरा स्पोर्ट्स । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा सुरू भएको १८औँ हिसान स्पोर्ट्स मिटको उद्घाटन कार्यक्रम पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा शुक्रबार एक भब्य समारोहबीच सम्पन्न भएको छ ।

१८औं हिसान स्पोर्ट्स मिटको उद्घाटन एक समारोहबीच गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. इन्द्रप्रसाद तिवारीले गरेका हुन् । उद्घाटन समारोहमा बोल्दै कुलपति तिवारीले बदलिँदो परिवेशसँगै खेलकुद क्षेत्र मुलुकको अर्थतन्त्रसँग समेत जोडिँदै गएको उल्लेख गर्दै यसको महत्व झनै बढ्दै गएको बताए । उनले विकासक्रमसँगै विश्वका धेरै मुलुकहरूको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा खेलकुद बनेको उल्लेख गर्दै भारत, चीनजस्ता ठूला देशहरूले खेलकुदलाई विशेष प्राथमिकतामा राखी अर्थतन्त्र सुदृढ बनाउने माध्यमका रूपमा अघि बढाएको उदाहरण प्रस्तुत गरे ।

नेपाली खेलकुदको जग बलियो बनाउन सबै सरोकारवाला पक्षको समान दायित्व रहेको जनाउँदै कुलपति तिवारीले गण्डकी विश्वविद्यालयले खेलकुदसम्बन्धी अध्ययन–अध्यापन गराउँदै आएकोले यसबाट खेल क्षेत्रमा आबद्ध युवा पुस्ता लाभान्वित हुने विश्वास व्यक्त गरे । प्रतियोगिताको सफलताको शुभकामना दिँदै उनले खेलकुद केवल मैदानमा खेल्न वा मनोरञ्जनका लागि मात्र नभई व्यवसायिक जीवनमा अघि बढ्ने प्रभावकारी माध्यमसमेत भएको धारणा राखे ।

कार्यक्रममा हिसान नेपालका केन्द्रीय अध्यक्ष रमेश कुमार सिलवालले खेलकुदले सधैँ खुसी र सकारात्मकता दिने भएकाले सबैका लागि प्रिय बनेको बताए । शिक्षा र खेलकुद दुवै क्षेत्रमा संलग्न धेरै व्यक्तिहरूको जीवन परिवर्तनमा खेलकुद महत्वपूर्ण माध्यम बनेको उल्लेख गर्दै उनले सफल नेतृत्व विकासका लागि खेलकुद अपरिहार्य रहेको धारणा व्यक्त गर्दै भने–“जिवनको सिद्धान्त परिवर्तन गर्न होस वा सफलतासँगै खुसी दिनका लागि खेलकुदको महत्व बढ्दै गएको छ ।”

हिसान कास्कीका अध्यक्ष दिवाकार जैशीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा निवर्तमान अध्यक्ष याम बहादुर रोक्काले हिसानमा आवद्ध ८० शैक्षिक संस्थाहरुका ४ हजार विद्यार्थीहरु १८औं हिसान स्पोर्टस मिटमा सहभागिता जनाएको बताए ।

कार्यक्रममा हिसान कास्कीका उपाध्यक्ष ढाकाराम कंडेल, सचिब किरण सापकोटालगायतले आफ्ना भनाई राख्दै हिसान स्पोर्ट्स मिट महोत्सवको रुपमा सञ्चालन भएको जनाउँदै यूवा खेलाडी उत्पादनमा समेत महत्व राखेको जनाए ।

सो अवसरमा हालै श्रीलंकाको राजधानी कोलोम्वोमा सम्पन्न वर्ल्ड पावर लिफ्टिङमा महिलातर्फ च्याम्पियन बन्न सफल खेलाडी शर्मिला शाहलाई हिसान कास्कीले नगद रु २५ हजारका साथमा सम्मानपत्र, दोसल्लाले सम्मान गरेको छ । सम्मानित शाहले कार्यक्रममा बोल्दै आफूले विश्व च्याम्पियन बन्न कठिन यात्रा पार गरेको बताउँदै हारबाट सिक्दै अघि बढेमा सफलता हात लाग्ने बताइन् ।

उद्घाटन कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुले आकर्षक सांस्कृतिक कार्यक्रमहरु समेत प्रदर्शन गरेका थिए भने हिसानले आयोजना गरेको अतिरिक्त कृयाकलापहरुमा बिजेता बन्न सफल विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको थियो ।

१८ औं संस्करणको हिसान स्पोर्टस मिट यहि पौषेखि ७ गते सम्म पोखरा रंगशालामा सञ्चालन हुनेछ । स्पोर्टस मिट अन्तर्गत प्लस टु (कक्षा ११–१२) विद्यालय, कलेज र विश्वविद्यालयतर्फका खेलाडीहरु विभिन्न चार खेलका छुट्टा–छुट्टै इभेन्टमा प्रतिष्पर्धा गदैंछन् ।

हिसान कास्की स्पोर्टस मिट अन्तर्गत छात्र-छात्रा बास्केटबल, भलिबल, व्याडमिन्टन र टेबुल टेनिसका प्रतिष्पर्धा हुने छन् । प्रतियोगितामा कक्षा ११–१२ छात्र भलिबलमा ३८ र छात्रातर्फ २४ टिमहरुको सहभागिता रहेको छ ।

त्यस्तै छात्र बास्केटबलमा सर्वाधिक ४६ तथा छात्रातर्फ २० टिम, टेवुल टेनिसतर्फ छात्र–छात्रा सिंगल्स, डब्लसतर्फ गरी २ सय ५० जना तथा व्याडमिन्टन छात्र–छात्रातर्फ सिंगल्स र डब्सल्समा गरी कुल २ सय ५८ जनाको सहभागिता रहेको हिसान कास्कीले जनाएको छ ।

विश्वविद्यालयतर्फ बास्केटबल, टेबुल टेनिस र ब्याडमिन्टनमा सहभागिता जनाउने छन् । हिसान स्पोट्र्स मिटअन्तर्गत सबै खेलहरु पोखरा रंगशालामा सञ्चालन भइरहेका छन् भने बास्केटबलमा टिम सहभागिता बढि भएकोले रामघाटस्थित पुन समाजको बास्केटबल कोर्टमा समेत जारी रहेको छ ।

यसै बीच छात्र भलिबलको दोस्रो दिन पहिलो चरणको खेल जारी रहँदा मदर ल्याण्ड मावि, सिर्जना, कास्की मोर्डनाइज्ड, लिटल फ्ल्वार, स्पाइरल ग्यालेक्सी, प्रतिभा मावि, माउन्ट अन्नपूर्ण र न्यू ग्यालेक्सी बिजयी भएको सो खेलका संयोजक नविन बरालले जानकारी दिएका छन् । यसै गरी छात्र बास्केटबलतर्फ दोस्रो दिनका खेल जारी रहँदा शुक्रबार टेबुल टेनिस तथा ब्याडमिन्टनका प्रतिस्पर्धा समेत सुरू भएको हिसान कास्कीले जनाएको छ ।

१५औं, १६औं र १७औं संस्करणको हिसान स्पोर्टस मिटको उपाधि प्रतिभा माविले लगातार तीन पटक जित्दै शिल्ड कब्जा गरेको थियो । हाल सम्म ग्लोबल कलेजियट माविले लगातार ३ पटक र न्यू ग्यालेक्सीले लगातार ४ पटक जितेर रनिङ्ग शिल्डमा कब्जा गरेका छन् ।

निजी शिक्षालयहरूको साझा संस्थाको रुपमा रहेको हिसान कास्कीअन्तर्गत कास्कीमा आवद्ध शिक्षालयहरुमा ४० हजार भन्दा बढी विद्यार्थी र ५ हजार बढी शिक्षक तथा कर्मचारीहरु कार्यरत छन् । हिसान कास्की शाखामा प्याब्सन, एनप्याब्सन, युनिप्स लगायतका संस्थामा आवद्ध विद्यालयहरुको आवद्धता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close