एनभिए कप च्याम्पियनसिप : गण्डकीको सहभागिता अलमलमा !

पोखरा स्पोर्ट्स । नवौं एनभिए कप महिला तथा पुरूष भलिबल च्याम्पियनसिप २०८२ सुरू हुन आठ दिन बाँकी हुदा समेत गण्डकी प्रदेश टिमको सहभागिता अन्यौलमा छ ।

नेपाल भलिबल संघको आयोजनामा यहि पौष ११ देखि २० गते सम्म काठमाण्डौमा तय भएको सो प्रतियोगितामा गण्डकी प्रदेश भलिबल टिमको सहभागिता अन्यौलमा परेको हो । नेपाल भलिबल संघले टिम सहभागिताका लागि गण्डकी प्रदेश भलिबल संघलाई पत्राचार नगरी प्रदेश खेलकुद परिषद गण्डकीलाई पत्राचार गरेको छ ।

काभा पुरूष च्याम्पियनसिपमा गण्डकीका खेलाडीलाई टिममा समावेश नगरे पछि उत्पन्न विवादका कारण गत भदौ ९ गते बसेको गण्डकी भलिबल संघको बैठकले नेपाल भलिबल संघको कुनै पनि प्रतियोगितामा सहभागिता नजनाउने निर्णय गरेको थियो ।

प्रदेश खेलकुद परिषदले सहभागिताका लागि गण्डकी भलिबल संघलाई आग्रह गरे पनि स्रोत अभावका कारण समस्या भएको संघका कार्यबाहक अध्यक्ष राजेन्द्र जिशीले जनाएका छन् । विगत तीन वर्ष देखि कार्यबाहक अध्यक्षको भरमा रहेको गण्डकी प्रदेश भलिबल संघलाई नितिगत निर्णयहरु गर्न समस्या भएको जनाउँदै सहभागिताका लागि परिषदलाई आर्थिक स्रोतका लागि आग्रह गरिएको कार्यबहाक अध्यक्ष राजेन्द्र जिशीले बताए ।

एनभिए कपका लागि टिम पठाउँदा तीन देखि चार लाख खर्च हुने भएको बताउँदै जिशीले भने–“संघमा टिम सहभागिताका लागि त्यती ठूलो रकम छैन । मैले जापानमा रहनु भएका अध्यक्ष ज्यूलाई फोन गरेको छु । साथीभाइ गुहारेको छु । सम्भव भए सम्म टिम पठाउने सोचमा हामी छौं । परिषदले खेलाडीलाई एक–एक थान खेल जर्शी दिने भनेको छ ।”

यता संघका महासचिब टहल सिंह थापाले खेलाडीहरु विभिन्न प्रतियोगितामा व्यस्त रहेको बताए । टिम फाइनल गर्न सिनियर खेलाडीहरुलाई जिम्मा दिएको बताउँदै एक दुई दिनमा टुङ्गो लाग्ने बताए । उनका अनुसार केही खेलाडीहरु खेलकुदमा सहभागिताका लागि बैदेशिक यात्रा रहेको छ ।

एनभिए कपमा १२ खेलाडी र दुई प्रशिक्षक र एक म्यानेजरसहित १५ सदस्यिय टोली पठाउनु पर्ने हुन्छ । टिममा तीन जना विदेशी खेलाडीसमेत राख्न पाउने प्रावधान रहेको छ । फायल तस्विर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close