पोखरा फुटबल स्टेडियमको ड्रेसिङरुम र प्लेयर बक्सका लागि प्रदेश सरकारले २७ लाख खर्च गर्दै

पोखरा स्पोर्ट्स । पोखरा रंगशालास्थित पोखरा फुटबल स्टेडियममा खेलाडीका लागि आवश्यक ड्रेसिङरुम तथा प्लेयर बक्स निर्माण गर्न गण्डकी प्रदेश सरकारले २७ लाख रुपैयाँ खर्च गर्ने भएको छ ।  आगामी माघ १५ गतेदेखि पोखरामा आयोजना हुने साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपलाई लक्षित गर्दै गण्डकी प्रदेश सरकारको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयमार्फत उक्त रकम खर्च गर्न लागेको हो। 

रंगशाला निर्माण सम्पन्न भएको झण्डै डेढ दशकपछि पोखरामा आयोजना हुन लागेको दोस्रो ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि ड्रेसिङरुम र प्लेयर बक्स अन्तर्राष्ट्रियस्तरको हुनुपर्ने अध्ययन टोलीको सुझावपछि जिल्ला खेलकुद विकास समिति कास्कीले मन्त्रालयसँग पहल गरेको थियो ।

जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङले प्रतियोगिताको महत्वबारे मन्त्रालयसँग गहन छलफल भएको जानकारी दिँदै भने, “लामो समयदेखि अन्तर्राष्ट्रिय प्रतियोगिताको पर्खाइमा रहेको पोखरा फुटबल स्टेडियममा दक्षिण एसियाली फुटबल महासंघ (साफ) का प्रतिनिधिले समेत स्थलगत अध्ययन गरेपछि हामीले पहल अघि बढाएका थियौं । धेरै पटकको बैठक र छलफलपछि मन्त्रालय आवश्यक पूर्वाधारमा खर्च गर्न तयार भएको छ । मन्त्रीज्यू सहित सबैप्रति धन्यवाद व्यक्त गर्दछु ।”

पोखरा फुटबल स्टेडियमका चारवटा ड्रेसिङरुममा ‘एक खेलाडी, एक बक्स’ अवधारणाअनुसार सुविधा उपलब्ध गराइने छ । साथै थेरापी तथा मेडिकल सुविधा समेत रहने जिल्ला खेलकुद कार्यालय कास्कीका प्रमुख डिबी नेपालीले जानकारी दिए । साफ यू–१९ च्याम्पियनसिपमा एक टिममा २५ खेलाडी रहने भएकाले चारवटा ड्रेसिङरुममार्फत एकै पटक १ सय खेलाडीलाई सहज रूपमा व्यवस्थापन गर्न सकिने उनले पोखरा स्पोर्ट्लाई बताए।

यसैगरी मैदान क्षेत्रमा समेत प्लेयर बक्स निर्माण गरिनेछ । जिल्ला खेलकुदको प्राविधिक टोलीले सो कार्य सम्पन्न गर्न २७ लाख रुपैयाँ लागत अनुमान (इस्टिमेट) तयार गरेको जनाएको छ । ड्रेसिङरुम र प्लेयर बक्स निर्माणको जिम्मा प्रदेश खेलकुद परिषद् गण्डकीमार्फत मन्त्रालयले लिने जिल्ला खेलकुदले जनाएको छ । तर यता प्रदेश सरकारले १० लाख भन्दा बढ़ीको पूंजीगत रकम खर्च गर्दा कम्तिमा १५ वा ३५ दीने सूचना प्रकाशित गरी टेण्डर प्रक्रिया मार्फ़त गर्नूपर्ने ऐनमा र सार्वजनिक ख़रीद नियमावलीमा स्पस्ट उल्लेख छ भाने प्रदेश सरकारले समेत सो कुरा अवलम्बन गरेको छ । 

यसैबीच मैदानलाई थप व्यवस्थित बनाउने उद्देश्यले अखिल नेपाल फुटबल संघ (एन्फा) को एक प्राविधिक टोली पोखरामा खटिएको छ । मैदान व्यवस्थापनका विज्ञ दिलिप रजकलाई एन्फाले पोखरा पठाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close