
पोखरा स्पोर्ट्स । वर्ल्ड बक्सिङ च्याम्पियनसिपको इतिहासमा नै नेपाली बक्सर चन्द्रबहादुर थापाले आफ्नो नाम लेखाएका छन् । दुवईमा जारी जारी आइबिए मेन्स वर्ल्ड बक्सिङ च्याम्पियनशिप–२०२५ को सेमीफाइनलमा स्थान बनाउँदै उनले इतिहास रचेका हुन् ।
उनले भर्खरै सम्पन्न क्वार्टरफाइनल तर्फको ५४ केजी बेन्टम फाइटमा इरानका काजेमी मेहदीलाई सोझो ५–० ले पराजित गर्दै इतिहास रचेको नेपाल बक्सिङ संघका महासचिब मान भण्डारीले पोखरा स्पोर्ट्सलाई जानकारी दिए । महासचिब भण्डारीले यो जित नेपाली बक्सिङ इतिहासमा नै सुनौलो अक्षरले लेखिने जनाउदै नेपाली खेलाडी चन्द्र बहादुरले इतिहास रचेकोमा बधाई दिएका छन् ।
‘यो नेपाली बक्सिङका लागि सुखद क्षण हो’ उनले भने ‘चन्द्र बहादुरले नेपाली बक्सिङको खेलको उचाई बढाएका छन् । म उनले रिङ्गमा देखाएको अदम्य शाहसको संघको तर्फबाट उच्च सम्मान व्यक्त गर्दछु ।’ वर्ल्ड बक्सिङमा इरानको दबदवा रहे पनि नेपाली खेलाडी सेमीफाइनलमा स्थान बनाउन गर्वको विषय रहेको उनले जनाए ।
तर अर्को एक खेलमा नेपाली बक्सर लालप्रसाद उप्रेती भने काजाकास्तानका बक्सर तेमिरतास झुसोपोभ संग ४–० ले पराजित भए ।
आइबाले सेमीफाइनलमा पुग्ने खेलाडीहरुलाई ७५ हजार डलर दिने यस अघि नै घोषणा गरिसकेको छ । चन्द्र बहादुरको यो जितले उनको यो पुरस्कार राशी पक्का भएको छ । आइबाले उक्त विश्व च्याम्पियनशिपमा बिजेता लाई तिन लाख डलर, उप बिजेतालाई एक लाख ७५ हजार डलर र तृतीय हुने दुइ जनालाई ५-५ हजार डलर पुरस्कार राशिको घोषणा गरेको छ ।
