
पोखरा स्पोर्ट्स । खेलकुद कार्यक्रमहरुमा हुने पट्यार लाग्दो आसन ग्रहण र लामो भाषण कार्यक्रमलाई तोड्न प्रदेश खेलकुद परिषद खेलकुद परिषद गण्डकीले आचारसंहिता नै बनाएर अघि बढेको छ । प्रदेश खेलकुद विकास ऐन २०७७ को दफा ४५ को उपदफा १ बमोजिम ‘गण्डकी प्रदेश खेलकुद प्रतियोगितामा आसन ग्रहणको प्राथमिकता क्रम निर्धारण तथा पालना गर्नुपर्ने आचारसंहिता २०८२’ बनाएर लागु गरेको सदस्य सचिब श्रीधर शर्माले जनाएका छन् ।
खेलकुद कार्यक्रममा लामो र पट्यार लाग्दो आसन ग्रहण सँगै माला, खादा र कसैले सुनोस कि नसुनोस लामो–लामो भाषणबाट दिक्क हुने खेलाडी, दर्शक र आम खेलप्रेमीहरुलाई आचारसंहिताले ति सबै कुराहरुलाइ निस्तेज पार्ने सदस्य सचिब शर्माले बताए । यो आचारसंहिताले सबै जिल्ला खेलकुद समितिहरु, खेलकुद संघहरु, गण्डकी प्रदेशका सबै ८५ वटा पालिकाहरु तथा खेलकुद कार्यक्रम आयोजना गर्ने संघ–संस्थाहरुले भोलीबाट लागु हुने गरी सुरूवात भएको उनले जनाए ।
‘यो आचारसंहिताले आशन ग्रहण र भाषणमा राजनितिक दलका नेताहरुलाई भन्दा पनि खेलकर्मी र खेलकुदमा सरोकारवाला हरुलाई प्राथमिकता दिएको छ’, सदस्य सचिब शर्माले भने ‘खेलकुदमा हुने उद्घाटन तथा समापन कार्यक्रमहरुमा के कसरी सञ्चालन गर्ने बारे समेत स्पष्ट पारेको छ ।’ भोली (बिहिबार)बाट लागु हुने सो आचारसंहिता पालना नगरेको पाइएमा कार्वाही समेत गरिने सदस्य सचिब शर्माले स्पष्ट पारेका छन् । ‘खेलकुदको अनुशासन र मर्यादाको मापदण्डलाई उच्च प्राथमिकतामा राख्दै यो आचारसंहिता आएको हो’ उनले थपे–‘अब हामी स्पष्ट छौं आसन ग्रहणको मर्यादाक्रम समेत आचारसंहिताले गरेको छ भने कार्यक्रममा मन्तव्यको समेत समय सिमा तोकेको छ ।’
आचारसंहिताले खेलकुद उद्घाटन कार्यक्रममा ५ जना भन्दा बढिले मन्तब्य गर्न नपाउने गरी तोकेको छ । जसमा प्रमुख अतिथी भन्दा बाहेक अन्य ४ जनाका लागि भाषणको समय सिमा १० मिनेट तोकिएको छ । ‘छिटो, सरल तथा मितव्ययी बनाउन यो आचारसंहिताको पहिलो प्राथमिकता हो’, उनले भने–‘मैले पनि पटक–पटक यो समस्या भोगेको छु । खेलकुदमा आसन ग्रहण भन्दा पनि पहिलो प्राथमिकता खेलाडीहरु मैदानमा खेल्न पाउनु पर्छ । लामो आसन ग्रहण र भाषणले खेलाडीलाई मात्रै नभई दर्शकहरुलाई समेत नकरात्मक प्रभाव परेको छ ।’
प्रदेश खेलकुद परिषदले विभिन्न समयमा खेलकुद कार्यक्रम मर्यादित बनाउनका लागि नियमावली र आचारसंहिताहरु निर्माण गरे पनि के कति लागु भए भन्ने बारे भने एकिन हुन सकेको छैन । परिषदले भोली बिहिबारबाट लागु हुने गरी गण्डकी प्रदेश खेलकुद प्रतियोगितामा आसन ग्रहणको प्राथमिकता क्रम निर्धारण तथा पालना गर्नुपर्ने आचारसंहिता २०८२ ल्याएको छ । खेलकुद कार्यक्रमहरु मर्यादित र भब्य बनाउन यो आचारसंहिता महत्वपूर्ण रहे पनि लागु गर्न/गराउन परिषद कति सफल हुन्छ त्यो भने हेर्न बाँकी छ ।
