कास्कीमा ‘होली डे स्पोर्ट्स’ले मूर्तरुप लिदैं, मंसिर २७ बाट छात्र फुटबल

पोखरा स्पोर्ट्स । कास्कीमा ‘होली डे स्पोर्ट्स’ले मूर्तरुप लिने भएको छ । खेलकुदमार्फत विद्यार्थीहरुको सर्वाङ्गिण विकासका लागि जिल्ला खेलकुद विकास समिति कास्कीको अवधारणा अनुरुप ‘होली डे स्पोर्ट्स’ले मूर्तरुप लिने भएको हो ।

जिल्ला खेलकुद कास्की, निजी विद्यालयहरुको छाता संस्थाहरु प्याब्सन, एन प्याब्सन, हिसानलगायतको सहकार्यमा ‘होली डे स्पोर्ट्स’को पहिलो चरणको खेल यहि मंसिर २७ गते शनिबारबाट सुरूवात गर्न लागिएको जिल्ला खेलकुदका कार्यालय प्रमुख डिबी नेपालीले पोखरा स्पोर्टसलाई जानकारी दिए ।

पहिलो चरणअन्तर्गत मंसिर २७ गतेबाट छात्र फुटबलको तयारी सुरू गर्न लागिएको जनाउँदै सबै विद्यालयहरुलाई सहभागिताका लागि अनुरोध गरिएको जिल्ला खेलकुदका अध्यक्ष मिलन गुरूङले जानकारी दिए । पहिलो चरणमा ३२ विद्यालयहरुको सहभागिता हुने अपेक्षा गरिएको उनको भनाई छ ।

लिग कम नक आउटका आधारमा ‘होली डे स्पोर्ट्स’ अन्तर्गत सञ्चालन हुने प्रतियोगितामा शनिबारको विदा बाहेक अन्य सार्वजनिक विदाहरुको समेत सदुपयोग हुने गरी तयारी गरिएको छ । प्रतियोगिता सञ्चालनका लागि गोपाल थापालाई टेक्निकल डाइरेक्टर तोकिएको छ ।

हरेक शनिबार र विदाको दिनको सदुपयोगका लागि सुरूवात हुने ‘होली डे स्पोर्ट्स’ कक्षा १० सम्म अध्ययनरत छात्र फुटबल अन्तर्गत यहि मंसिर २५ गते सम्म सम्पूर्ण विद्यालयहरुलाई दर्ताका लागि आह्वान समेत गरिएको जिल्ला खेलकुदले जनाएको छ ।

जिल्ला खेलकुद कास्की, निजी विद्यालयहरुको छाता संस्थाहरु प्याब्सन, एन प्याब्सन, हिसानलगायतको सहकार्यमा सुरूवात गर्न लागिएको सो कार्यक्रमअन्तर्गत कम्तिमा ६ वटा खेलहरु सञ्चालन हुने गरी योजना बनाइएको प्याब्सन कास्कीका अध्यक्ष षडानन्द गौतमले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close