आइटिएफ जे३० टेनिस टुर पोखरा : मेन ड्रका खेल सुरू, नेपाली खेलाडीहरुको मिश्रित परिणाम

पोखरा स्पोर्टस । आइटिएफ जे३० वर्ल्ड टेनिस टुर पोखरा २०२५ आजबाट पोखरा रंगशालामा मेन ड्रका खेलहरु सुरू भएका छन् ।

अन्तर्राष्ट्रिय टेनिस महासंघ (आइटिएफ)को स्विकृत तथा कास्की जिल्ला टेनिस संघ द्वारा आयोजित प्रतियोगितामा पहिलो दिन मेन ड्रका खेलहरु सुरू भएसँगै नेपाली खेलाडीहरुले मिश्रीत परिणाम निकालेका छन् ।

ब्वाइज सिंगल्सतर्फ खेलमा दर्शिल श्रेष्ठले भारतीय खेलाडी अयन दहिया विरुद्ध ६–०, ६–१ को सहज जित हात पारेका छन् । त्यस्तै शीर्ष नं१ ताइपेइका टिङ–हो याङले नेपालका असव सम्राट हाडा लाई ६–०, ६–२ ले पराजित गर्दै प्रतियोगितामा प्रभावशाली सुरुवात गरेका छन् ।

नेपालका आयुष्मान हजुर घलेले दक्षिण कोरियाका ह्यो जिन हा विरुद्ध ६–३, ६–० को सहज जित निकाल्दै घरेलु समर्थकलाई उत्साहित पार्दा तेस्रो वरीयताका कोरियाली खेलाडी युल हो जुङले नेपालका शाश्वत बज्राचार्य विरुद्ध बलियो प्रदर्शन गर्दै ६–०, ६–० को सोझो सेटमा जित दर्ता गरे ।

नेपालका करण थापाले चौथो वरीयताका शौनाक चटर्जी (भारत) लाई ६–१, ६–२ ले सहज जित हात पार्दा पाँचौं वरीयता प्राप्त प्रणव मानन्धर (नेपाल)ले चीनका जियालियाङ गुओलाई ६–२, ७–५ ले हराउँदै अर्को चरणमा प्रवेश गरेका छन् ।

त्यस्तै ब्वाइज तर्फनै अन्य विजेतामा रेहान गुणवर्धन (श्रीलंका), फजल अली मीर (भारत), गनुका फर्नान्डा श्रीलंका), यांशुओ पान(चीन) तथा रोबर्ट डोल्या (सिंगापुर) रहेका छन् ।

यसै गरी गर्ल्स सिंगल्सतर्फ नेपाली खेलाडी द्वय शाल्बी शेरचन र स्वस्तिका विष्ट मेन ड्रको पहिलो खेलबाट बाहिरिएका छन् । शाल्बी भारतीय खेलाडी इशा शर्मा सँग ६–२, ६–२ ले तथा स्वस्तिका तेजस्वी मानेनीसंग टाइ–ब्रेकमा ७–६(६), ६–४ ले पराजित भए ।

गर्ल्स सिंगल्सतर्फ भारतका खेलाडीहरूले प्रभाव जमाउँदै इशा शर्मा, शताक्शिखा सहायाक, नोराह चौधरी, रञ्जना संग्राम र मेहा पाटिल सबैले आफ्नो खेल जित्दै अर्को चरणमा स्थान सुरक्षित गरे भने ताइपेइकी के–चियाह हसु र चीनकी युनर ची ले आ–आफ्नो खेल जित्दै अर्को चरणमा प्रवेश गरे । आजको सबैभन्दा रोचक खेलमा नाला जोसेफिन मास्की (अमेरिका) र आयेशा बगला (भारत) बीच थियो । मास्कीले ६–२, ६–७(७), ६–२ ले जित हाँसिल गरिन् ।

मंसिर २७ गते दुई साता सम्म लगातार सञ्चालन हुने आइटिएफ वल्र्ड टेनिस टुर जे३० सर्किट १ र २ अन्तर्गत १६ देशका ८० खेलाडीहरुको सहभागिता रहेको छ । जसमा ब्वाइजतर्फ ५५ र गर्ल्सतर्फ २५ जना रहेका छन् । प्रतियोगितामा नेपालसहित भारत, चिन, अमेरिका, न्युजिल्याण्ड, ताइवान, बंगलादेश क्यानाडा, अस्ट्रेलिया, कोरिया, युके, सिङ्गापुर, मलेसिया, श्रीलंका, इजरायल, हङकङका खेलाडीहरुको सहभागिता रहेको छ ।

प्रतियोगितामा १३ वर्ष देखि १८ वर्ष उमेर समुहमा हुने प्रतिष्पर्धाका बिजेताले समान ३० अंक, उपबिजेताले १८ अंक, सेमिफाईनलिष्टले ९ अंक, क्वाटर फाइनालिष्टले ५ र आर–१६ ले २ अंक प्राप्त गर्नेछन् । .त्यस्तै डबल्समा विजेताले २५ अंक उपविजेताले १३ अंक, सेमिफाइनालिष्टले ६ अंक, क्वाटर फाइनालिष्टले ३ अंक प्राप्त गर्नेछन् ।

प्रतियोगितामा ब्वाइज सिङ्गल्स तथा डबल्स÷गर्ल्स सिङ्गल्स तथा डबल्स गरी जम्मा ४ ईभेन्टमा प्रतियोगिता संचालन हुनेछन् । जसमा बिजेता तथा उप–विजेताले प्रमाण–पत्रसहित मेडल प्राप्त गर्नेछन् ।

प्रतियोगिता सम्पन्न गर्न करिव १७ लाख ८७ हजार खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रदेश खेलकुद परिषद, जिल्ला खेलकुद विकास समिति कास्की, पोखरा महानगर पालिका, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशलगायतको सहकार्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close