
पोखरा स्पोर्ट्स । पछिल्लो दिनमा जिल्ला खेलकुद विकास समिति कास्कीले विभिन्न सुधारका कार्यहरु अघि सार्ने क्रममा आफ्नो कार्यालयको मुख्य प्रवेशद्वारमा डिजिटल बोर्ड राखिएको छ ।
जिल्ला खेलकुद कास्कीले खेलाडीहरु तथा आगन्तुकहरुलाई सूचना प्रवाह गर्न सो बोर्ड राखिएको समितिका अध्यक्ष मिलन गुरूङले जनाएका छन् । पोखरा रंगशालामा यति बेला दिनहुँ जसो विभिन्न खेलकुद प्रतियोगिताहरु सञ्चालन भइरहेकोले पनि कुन खेल कुन खेल मैदानमा हुदैछ भन्ने जानकारी दिन पनि डिजिटल बोर्ड राखिएको अध्यक्ष गुरूङले बताए ।
यति बेला पोखरा रंगशालाला भित्र खेलका गतिविधि चलायमान भइरहेकोले पनि अब कुन खेल कहाँ हुदैछ भनेर सोध्न कार्यालय भित्र जानु पर्ने बाध्यता हटेको कार्यालय प्रमुख डिबी नेपाली बताए ।
निकै आकर्षक रहेको डिजिटल बोर्डमा कार्यालयको नामसहित समय, तापक्रमसमेत देखाइएको छ । सो बोर्डका लागि करिव ८० हजार खर्च भए पनि केही रकम दाताहरुको सहयोग रहेको कार्यालय प्रमुख नेपालीले जानकारी दिए । उनले भने–“हामीसँग त्यती ठूलो रकम छैन तर अध्यक्ष ज्यूले आफ्ना नजिकका मित्रहरुबाट प्राप्त सहयोगले नै यो सम्भव भएको हो ।”
आजबाट सुरूवात भएको डिजिटल बोर्ड हेर्ने खेलाडी र रंगशालास्थित कार्यालय प्रवेश गर्नेहरुले आहा! डिजिटल बोर्ड भन्दै प्रशंसा समेत गरेको प्रमुख नेपालीले बताए ।
