नेपाली बक्सिङ पुरूष टोली विश्व च्याम्पियनसिपका लागि प्रस्थान

पोखरा स्पोर्ट्स । नेपाली पुरूष बक्सिङ टोलीले आइविए मेन्स वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा सहभागिता जनाउने भएको छ ।

नेपाली बक्सिङ टोलीले यहि डिसेम्बर ३ देखि १४ तारिखसम्म संयुक्त अरब इमिरेट्सको दुबईमा हुने प्रतियोगितामा प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल बक्सिङ महासंघका महासचिब मान बहादुर भण्डारीका अनुसार सो विश्वकपमा नेपाली ५ बक्सर र  ३ जना प्रशिक्षकसहित ८ सदस्यिय टोली सहभागिताका लागि त्यसतर्फ प्रस्थान गरेको छ ।

महासंघका अनुसार यस वर्षको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरूलाई प्राथमिकतामा राख्दै खेलाडी छनौट गरिएको जनाउँदै यसअन्तर्गत नेपालले विश्व च्याम्पियनसिपमा ४८ किलोतर्फ लाल प्रसाद उप्रेती, ५१ किलोतर्फ फुक्लाङ तामाङ, ५४ किलोतर्फ चन्द्र बहादुर थापा, ६० किलोतर्फ खगेन्द्र रोका मगर र ८० किलोतर्फ दिपक श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् ।

सो प्रतियोगितामा मुख्य प्रशिक्षक आइवा टु स्टार प्रकाश थापा मगर, आइवा थ्रि स्टार सहायक प्रशिक्षक दिपक महर्जन र आइवा वान स्टार सहायक प्रशिक्षक सुजित थापा मगर प्रशिक्षकको भूमिकामा रहेका छन् ।

नेपाल टिमले विश्व च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्नेमा नेपाल बक्सिङ महासंघले अपेक्षा गरेको नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले जनाएका छन् । महासंघले नेपालमा बक्सिङको लोकप्रियता र प्रतिस्पर्धात्मक स्तर बढाउँदै अन्तर्राष्ट्रिय मञ्चमा प्रभावशाली उपस्थिति जनाउने लक्ष्य राखेको बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close