
केशव पाठक/पोखरा स्पोर्ट्स । गण्डकी प्रदेश कास्की, माछापुच्छ्रे गाउँपालिका–६ ल्वाङ्घघलेल तौलीमा करिब ६४ वर्षअघि एक साधारण गुरुङ परिवारमा जन्मिएका रामचन्द्र गुरुङ आज बेलायतमा बसेर नेपाली समुदायको पहिचान, एकता र संस्कृतिको जगेर्ना गरेका समाजसेवीका रूपमा पहिचान बनाएका छन् ।
पूर्व प्रधानपंच एवं समाजसेवी मनिलाल गुरुङ र माता देविकुमारी गुरुङका सुपुत्र गुरुङ श्रम, अनुशासन र इमानदारीका मूल्यसहित हुर्किएका व्यक्ति हुन् । नेपाली फुटबलमा योगदान दिएको सहारा युकेको गरिमामय सल्लाहकर पदमा आशिन उनी हालै सहारा युके स्पेशियल अवार्डबाट सम्मानित भएका छन् । समाजसेवा सँगै खेलकुद क्षेत्रमा पुर्याएको महत्वपूर्ण योगदान नेपाली खेलकुद जगतका लागि समेत प्रेरणादायी रहेको छ । मार्गदर्शक, प्रेरक र समुदायलाई एउटै धागोमा बाँध्न सक्ने नेतृत्व क्षमताका कारण ब्रिटेनस्थित नेपाली समाजमा एक स्थापित नाम हो–रामचन्द्र गुरुङ ‘सुर्जे ‘ ।
शिक्षा र जीवनको प्रारम्भिक मोड
स्थानीय विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका उनले पोखरास्थित पृथ्वीनारायण क्याम्पसबाट प्रविणता तहसम्म अध्ययन गरे । करिब तीन वर्ष निर्माण व्यवसायमा संलग्न रहेका गुरुङ सन् १९९० मा पञ्चायती व्यवस्थाविरुद्धको जनआन्दोलनमा सक्रिय सहभागी बने । प्रजातन्त्र आएपछि अवसरको खोजी गर्दै उहाँ सन् १९९१ मा दक्षिण कोरिया, त्यसमापछि जापान र अन्ततः सन् १९९८ मा बेलायत पुगे ।
विदेशमा रहँदै समाजसेवा–यात्राको नयाँ अध्याय
बेलायत पुगेपछि रोजगारीमा मात्र सीमित नभई नेपाली समुदायलाई संस्थागत रूपमा जोड्ने अभियानमा लागे । सन् २००० मा तमु धिं युकेको स्थापना तथा विस्तारमा महत्वपूर्ण भूमिका खेल्दै उनले क्रमशः सचिव, उपाध्यक्ष र अध्यक्षसम्मको नेतृत्वमा पुगे । अहिले उक्त संस्थाले २६ वर्ष पूरा गरिसकेको छ । गुरुङको नेतृत्वमा गोर्खा कप फुटबल, नेपाली मेला, तमु ल्होछार, लाईफ मेम्बर डिनर नाइटलगायतका कार्यक्रम अन्तर्राष्ट्रिय नेपाली पहिचानका रूपमा स्थापित भएका छन् । जसका कारण बेलायतमा नेपालीहरुको सम्मान बढाएको छ ।
उनकै नेतृत्वकालमा तमु भवन खरीद, मर्गेज फ्रि अभियान, विद्यार्थी छात्रवृत्ति कार्यक्रम जस्ता योजनाहरू सफलतापूर्वक अघि बढेको मात्रै नभई मूर्तरुप समेत प्राप्त गरे ।
भूकम्प पीडितका लागि योगदान
नेपालमा गएको २०७२ को विनाशकारी भूकम्प लगतै अध्यक्षको रूपमा उनले सहयोग संकलन अभियान चलाएर १ करोड ११ लाख ११ हजार रुपैयाँ एनआरएनएमार्फत तथा १० लाख रुपैयाँ नेपाली दूतावासमार्फत नेपाल पठाउन पहल गरे । साथै धादिङस्थित खादिङ विद्यालय पुनर्निर्माणका लागि ६९ लाख रुपैयाँ सहयोग जुटाएर प्रत्यक्ष रुपमा सहयोग गरे ।
विविध संस्थामा सक्रियता
गुरुङ सहारा युके, ग्रेटर रसमुर नेपाली कम्युनिटी, शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर, मर्दिखोला समाज युकेलगायत संस्थामा सक्रिय रहँदै आएका छन् । अल्डरसटस्थित शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर भवन खरिददेखि सहारा भवन अक्षयकोष स्थापना एवं च्यारिटी कार्यक्रमहरूलाई प्रभावकारी बनाउन उनको योगदान उल्लेख्य रहेको छ ।
समाजका उदाहरणीय व्यक्तित्व
सरल, सहयोगी र सबैलाई सम्मान गर्ने व्यक्तित्वका धनी रामचन्द्र गुरुङ मार्गदर्शक, प्रेरक र समुदायलाई एउटै धागोमा बाँध्न सक्ने नेतृत्व क्षमताका कारण ब्रिटेनस्थित नेपाली समाजमा उभिएको नाम हो । बेलायतमा बसेर पनि नेपाली संस्कृति–पहिचान जगेर्ना मात्र हैन, भावी पुस्तालाई गौरवको प्रेरणा दिन सफल गुरुङ हाल श्रीमती पवित्र गुरूङ, एक छोरा र एक छोरीसँग अल्डरसटमा बसोबास गर्दै तमु लामा परिवार युकेका अध्यक्षको जिम्मेवारी समेत सम्हालेका छन् ।
