चन्द्र बहादुर गुरुङ : सिरानघरदेखि बेलायतसम्मको प्रेरणादायी यात्रा

केशव पाठक / पोखरा स्पोर्ट्स । स्याङजा जिल्ला सातसय कोल्मा अन्तर्गत तत्कालिन ओरेष्टे गाउँपालिका वडा नं २ सिरानघार (हाल पुतलीबजार नगर पालिका) जन्मिएका चन्द्र बहादुर गुरुङको जीवन यात्रा संघर्ष, अनुशासन र सामाजिक सेवाको उत्कृष्ट छ । साधारण परिवारमा जन्मिएका गुरुङ ६ छोरामध्ये जेठो छोरा हुन् । स्वर्गिय धनबहादुर र स्वार्गिय केशरी गुरूङको कोखबाट पहिलो सन्तानको रुपमा उनको जन्म भएको हो । हाल बेलायतमा सफल व्यवसायसँगै, समाजसेवा र ‘गल्फ’ खेलको विकासमा सक्रिय उनी कठोर संघर्षबाट खारिएका व्यक्ति हुन् । लिन भन्दा पनि दिन सधै सक्रिय उनको समाजसेवाको यात्रा पनि रोचक छ ।

बाल्यकाल, शिक्षा र खेलकुद
स्थानीय साउनेपानी प्राथमिक विद्यालयमा कक्षा ५ सम्म अध्ययन गरेका उनले कोल्मा बराहचौर माध्यामिक विद्यालयमा कक्षा ६ बाट शिक्षा अघि बढाए । तर कक्षा ७ पढ्दा–पढ्दै उनका बुबाको असामयिक निधन भएपछि परिवारको भार उनकै काँधमा आयो । आर्थिक समस्याका कारण दुई वर्ष पढाइ रोकिए पनि गाउँका सद्भावपूर्ण व्यक्तिहरूको सहयोगले सन १९७५ मा रुपन्देहीको पक्लिहवास्थित शुल्तान होस्टल (सरकारी विद्यालय) मा शिक्षा निरन्तरता दिन सके ।

१९७५ देखि १९८० सम्म पक्लिहवामा अध्ययनरत गुरुङ खेलकुदप्रति विशेष रूपमा आकर्षित थिए । एथलेटिक्स, फुटबल र भलिबलमा उत्कृष्ट प्रदर्शन गर्दै विद्यालयको खेलकुदमा नेतृत्वदायी भूमिका निर्वाह गरे । उनले रुपन्देही जिल्लाको तर्फबाट पोखराको पृथ्वी नारायण क्याम्पसमा आयोजित जिल्ला स्तरीय भलिबल प्रतियोगितामा सहभागी भए । त्यस्तै उनले सन १९७८ मा तत्कालिन लुम्बिनी अञ्चलको तर्फबाट काठमाडौंमा भएको राष्ट्रिय खेलकुदमा एथलेटिक्सतर्फ प्रतिस्पर्धा गरे ।

सैनिक सेवाको गौरवपूर्ण अध्याय
१९८० मा ब्रिटिस आर्मीतिर भर्ना भएका गुरुङले हङकङमा भर्ती तालिम पूरा गरी १९८१ मा २/२ गोर्खा जिआरमा ब्रुनाइबाट सेवा आरम्भ गरे । सैनिक जीवनमा उनले विभिन्न देश—हङकङ, ब्रुनाइ, मलेसिया, थाइल्यान्ड, कोरिया, बेलायत, फकल्यान्ड टापु र साउथ जर्जियामा सेवा गरे। ‘बिस्ली सुटिङ’ “Bisley Shooting” (Charge Marry) जस्तो प्रतिष्ठित जिम्मेवारी बोकेको अनुभव उनका विशेष स्मरणीय अध्याय हुन् ।

एक तालिमका क्रममा गोली लागेर चमत्कारिक रूपमा बाँच्न सफल गुरुङले यस क्षणलाई “दोस्रो जीवन” प्राप्त गरेको रूपमा वर्णन गर्छन् ।  १६ वर्षको सेवापछि उत्कृष्ट आचरणका लागि Good Conduct Medal प्राप्त गर्दै १९९६ मा सम्मानपूर्वक अवकाश लिए ।

बेलायतमा सामाजिक सेवा र नेतृत्व
अवकाशपछि १९९६ मा बेलायत बसेर गुरुङ सामाजिक र सांस्कृतिक गतिविधिमा सक्रिय भए । १९९९ मा North Camp Gurkha Village मा पहिलो पटक ल्होसार कार्यक्रम आयोजना गर्न उनी अग्रसर रहे । २००० मा उनी तमु धि यूकेको संस्थापक सदस्यमध्ये एक बने ।

यहि वर्ष उनले Gurkha Hill Cash and Carry स्थापना गरे । फोक्सटन केन्टको पहिलो नेपाली किराना पसल, जो आजसम्म सफलतापूर्वक सञ्चालनमा छ ।  जिवन संगिनी शान्ता गुरूङका साथ उनको सामाजिक सेवाको यात्रा जारी छ । 

सामाजिक सेवामा निरन्तर सक्रिय गुरुङ २०१५ देखि २०१९ सम्म Folkstone Nepali Community को अध्यक्ष रहे । अग्रज नागरिकहरूको सम्मान र सुविधामा उनले विशेष ध्यान दिए । लण्डन, विन्डसर क्यासल, गोर्खा म्युजियम, नेपाली मेला, हिन्दू मन्दिर, बकिङहम प्यालेसलगायतका ठाउँमा तीनवटा कोचमार्फत निशुल्क भ्रमण उनले आफ्नै खर्चमा आयोजना गरे । साथै उनले अग्रज नागरिकहरूका लागि निशुल्क BBQ कार्यक्रम समेत आयोजना गरे ।

कोभिड–१९ मा मानवीय सहयोग
कोभिड–१९ को समयमा सात महीना नेपाल बस्दा उनले दैनिक झण्डै १५० जनालाई भोजन वितरण गर्दै मानवीय सेवामा अनुकरणीय उदाहरण प्रस्तुत गरे ।

सम्मान र निरन्तरता
दीर्घ सामाजिक योगदानको कदर गर्दै सहारा यूकेले उनलाई सम्मानित सहारा युकेले ‘सहारा अवार्ड’ बाट सम्मानित गरेको छ । यो क्षणलाई उनी आफ्नो जीवनका अविस्मरणीय रुपमा लिएका छन् । समुदायले दिएको माया, सम्मान र विश्वासका लागि उनले आभार प्रकट गर्दै आगामी दिनमा पनि सामाजिक सेवा र समुदाय विकासमा निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

निष्कर्ष
ग्रामीण स्याङ्जाबाट सुरु भएको चन्द्र बहादुर गुरुङको यात्रा ब्रिटिस आर्मीको गौरवशाली सेवा, बेलायतमा सफल व्यवसायिक यात्रा र समाजसेवाको उज्यालो अध्याय बनेको छ । संघर्षबाट प्राप्त दृढता, अनुशासन, उदारता र नेतृत्वले उनलाई समुदायका लागि प्रेरणाका स्रोत बनाएको छ ।
तस्विर सौजन्य : मिलन गुरूङ/UK

One Comment

  1. Chandra Dai is a very energetic, happy and helpful individual who is always ready to help others to the best of his capability. May God bless him, his family and all.. Thank you.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close