रजत वर्षमा आहा! रारा पोखरा गोल्डकप : माघ २७ बाट सुरू हुदै, च्यारिटीमा १७ लाख ४१ हजार बचत

पोखरा स्पोर्ट्स । नेपालमा निरन्तर सञ्चालन हुदै आएको देशकै प्रतिष्ठित फुटबल प्रतियोगिता मध्येको एक आहा! रारा पोखरा गोल्डकपको २५औं संस्करण आगामी माघ २७ गते देखि फागुन ९ गते सम्म हुने भएको छ ।

रजत वर्षको गौरवमय यात्रा टेकेको आहा रारा पोखरा गोल्डकपको आयोजक सहारा क्लब पोखराले सोमबार एक पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएको हो । हिम श्री फुड्सको मुख्य प्रायोजनामा सञ्चालन हुने सो प्रतियोगिताको संरक्षकमा पोखरा महानगर पालिका तथा सहयोगी संस्थाको रुपमा प्रदेश खेलकुद परिषद गण्डकीलगायत रहेका छन् ।

यसै बीच सहारा क्लब पोखराले गत २०८२ कार्तिक १४ गते आयोजित च्यारिटी डिनरमा १७ लाख ४१ हजार ६२६ रुपैयाँ बचत गर्न सफल रहेको जानकारी दिएको छ । सो रकम एकेडेमीमा आश्रित बालकहरुको लागि खर्च गर्ने अध्यक्ष थापाले बताए । एकेडेमीका लागि वार्षिक ४७ लाख खर्च हुदै आएको बताउँदै क्लबद्वारा सञ्चालित अक्षयकोषमा ३ करोड ४७ लाख रहेको जानकारी समेत दिए । सहारा क्लबले पहिलो पटक सो च्यारिटि डिनर आयोजना गरेको थियो । 

प्रतियोगितामा ‘ए’ डिभिजन, विभागिय क्लबहरु, आयोजक र अन्तर्राष्ट्रिय क्लब गरी १२ टिमको सहभागिता हुँदै आएको छ । गत संस्करणमा उज्वेकिस्तानको ब्ल्याक बुल्सले नेपाल पुलिस क्लबलाई पराजित गर्दै उपाधि जितेको थियो । गत संस्करणमा सहारा क्लबले २४ लाख २२ हजार ७६ रुपैयाँ बचत गर्न सफल रहेको थियो ।

सहारा क्लबका अध्यक्ष केशव बहादुर थापाले प्रतियोगिताको तयारी सुरू भएको जानकारी दिंदै सहयोगका लागि आग्रह गरेका छन् । यो वर्ष विशेष भएको कारणले पनि पोखरा महानगरसँग भगिनी सम्वन्ध भएका देशका शहरका टिमलाई पोखरा निम्त्याउने गरी महानगरसँग छलफल भएको उनले बताए । उनले भने–“आहा रारा गोल्डकप सहारा एकेडेमीमा आश्रित विपन्न वर्गका बालकहरुको सहयोगार्थको निरन्तरता हो । यसमा सदा झैं सबैको सहयोग र सहकार्यका लागि आग्रहसँगै यो वर्ष पोखराका भगिनी शहरहरुलाई समेत सहभागिताका लागि महानगरसँग छलफल अघि बढाएका छौं ।”

मुख्य प्रायोजक संस्था हिम श्री फुड्सका निर्देशक प्रकाश केसीले आहा रारा पोखरा गोल्डकपसँग आफ्नो स्वर्गिय बुवाको आत्मिय सम्वन्ध रहेको कारणले पनि प्रतियोगिता सफल बनाउन सहयोगको निरन्तरता रहने प्रतिवद्धता जनाए ।

यसै गरी पोखरा महानगर पालिका वडा नं ९ का अध्यक्ष दिपेन्द्र मर्सानीले पोखराको नाम बेचेर गरिने गतिविधि भन्दा पोखराको गरिमा माथी उठाउने आहा रारा पोखरा गोल्डकप जस्ता महत्वपूर्ण कार्यक्रमहरु सफल बनाउन सबै पोखरेलीहरुको सहयोगको खाँचो रहेको औंल्याए । उनले भने–“पहेलोँ देख्ने वित्तिकै सुन हुँदैन । व्यवसायिक रुपमा पोखराको नाम बेचेर स्वार्थ पुरा गर्नेहरु पनि छन् । तर आहा रारा गोल्डकपले पोखराको गौरव माथी उठाएको छ । हामी यस्ता कार्यक्रम सफल बनाउन सहकार्यको खाँचो छ ।”

सो अवसरमा सहारा क्लबका वरिष्ठ उपाध्यक्ष पूर्ण बहादुर गुरूङ, महासचिब गंगाराज पौडेललगायतले आफ्ना भनाई राख्दै रजत वर्षमा टेकेको आहा रारा पोखरा गोल्डकप सफल बनाउन आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close