
पोखरा स्पोर्ट्स । दृष्टिविहिन महिला टि२० विश्वकप फाइनल खेलमा नेपालले भारतलाई ११५ रनको लक्ष्य दिएको छ ।
श्रीलंकाको कोलोम्बोमा आइतबार जारी फाइनल भिडन्तमा नेपालले २० ओभरमा ५ विकेटको क्षतीमा ११४ रन मात्रै बनाउन सक्यो । नेपालले आफ्ना भरपर्दा दुई खेलाडी विनिता पुन र मनकेसी चौधरीलाई झिनो रनमा गुमाउन पर्दा भारतले ११५ रनको लक्ष्य पाएको हो ।
भारत विरुद्धको खेलमा निकै दबावमा देखिएका नेपाली व्याटरहरुले आफ्नो पुरै २० ओभरको खेलमा चौका समेत प्रहार गर्न असफल रहे । नेपालले ८ रनमा पहिलो विकेट गुमायो । नेपाल टिमकी कप्तान विनिता पुन व्यक्तिगत ४ रनको स्कोर रन आउट हुदै पेभिलियन फर्किएसँगै नेपाल दबावमा आएको थियो ।
नेपालले २४ रन बनाउँदा मनकेसी चौधरीको रुपमा दोस्रो विकेट गुमायो । मनकेसी विकेटमा जम्न सकिनन् । उनले ८ रन मात्रै बनाइन् ।
बी१ ब्याटर सुष्मा तामाङ २४ बलमा ६ रन बनाउँदा तेस्रो विकेटको रुपमा विमला राई २६ बलमा २६ रनको बनाउँदै आउट भइन् । विमला र सरिता घिमिरेको जोडीले ६१ रनको पार्टनरसिप गरेको थियो । विमला राई समेत सिंगल रन लिने क्रममा २६ रन बनाएर आउट भइन् ।
नेपालले ९५ रनमा पाँचौ विकेट गुमायो । इशारा माया डक आउट भइन् । सरिता घिमिरेले ३७ बलमा ३३ रन तथा विनिता सोमाईले व्यक्तिगत ९ रनको योगदान दिइन् ।
यति बेला भारत नेपालले दिएको लक्ष्य पछ्याउँदै छ । भारतले १ विकेट गुमाएर ११ रन बनाएको छ ।
