टाइगर ग्रुपको चौथो वार्षिक साधारण सभा सम्पन्न : छैटौं टाइगर कप भलिबलमा मालदिभ्सको राष्ट्रिय टोली आउने

पोखरा स्पोर्ट्स । खेलकुद, शिक्षा र स्वास्थ्यका लागि समर्पित टाइगर ग्रुप अफ पोखरा नेपालको चौथो वार्षिक साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ ।

टाइगर कप भलिबल प्रतियोगिताको समेत आयोजक टइगर ग्रुपले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता–२०८२’ मा मालदिभ्सको राष्ट्रिय पुरुष टोलीले सहभागिता जनाउने पक्का भएको अध्यक्ष नारायण प्रसाद शर्माले बताएका छन् ।

वार्षिक साधारण सभामा आफ्ना भनाई राख्दै अध्यक्ष शर्माले भने–“यो हाम्रो लागि गौरवको विषय हो । टाइगर कपको शाख स्वदेशमा मात्रै नभई विदेशमा समेत उत्तिकै छ भन्ने यो उदाहरण पनि हो । मालदिभ्सको राष्ट्रिय टोली पोखरा आउँदैछ । यसले पनि टाइगरको गरिमा र शाख धेरै माथि उठेको महशुस हामीले गरेका छौं ।”

माघ ९ देखि १७ गते सम्म आयोजना हुने छैटौं संस्करणको तयारी समेत सुरू गरिसकेको बताउँदै अध्यक्ष शर्माले स्वदेश तथा विदेशमा रहनु हुने सबैलाई सहयोग गर्न र विगतमा गरेको सहयोगका लागि समेत आभार व्यक्त गरे । “हामी सफल हुनुमा यहाँहरुको महत्वपूर्ण सहयोग र सदभाव छ”, उनले भने, “भलिबलको विकासका साथै हाम्रो सामाजिक अभियानको कार्यमा यहाँहरुको सदैव सहयोग रहनेमा म विश्वस्त छु ।”

यस अघि कार्यक्रमको उद्घाटन गर्दै मनिपाल शिक्षा अस्पतालका निर्देशक नारायण पौडेलले टाइगर ग्रुपले छोटो अवधिमा गरेको कार्यहरु प्रशंसनिय र महत्वपूर्ण रहेको जनाउँदै आफ्नो संस्था सदैव सहकार्यका लागि तयार रहेको बताए ।

कार्यक्रममा आफ्ना भनाई राख्दै नेपाल भलिबल संघका केन्द्रिय सल्लाहकार हरिप्रसाद पराजुलीले पोखरामा सञ्चालन हुने गौरवका खेलकुद कार्यक्रमहरुको सामञ्जस्यता ल्याउन सके त्यसले पोखराको खेलकुदसँगै पर्यटन क्षेत्रमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

सो अवसरमा आफ्ना भनाई राख्दै वरिष्ठ मुटुरोग विशेषज्ञ डा सूर्य देवकोटाले टाइगर ग्रुपले खेलकुद, स्वास्थ्य र सामाजिक क्षेत्रमा गरेको कार्यले सबैलाई आकर्षण गर्न सफल रहेको जनाउँदै उनले आफू जहिले पनि संस्थाको सामिप्यमा रहेर कार्य गर्न उत्सुक रहेको उल्लेख गरे ।

सहारा क्लबका वरिष्ठ उपाध्यक्ष पूर्ण बहादुर गुरूङले टाइगर ग्रुपले गरेको कार्यको प्रशंसा गर्दै सहारा क्लब पनि सहकार्य गर्दै अघि बढ्ने प्रतिवद्धता जनाए ।

चौथो वार्षिक साधारण सभामा सचिब डिबी नेपाली प्रगती प्रतिवेदन प्रस्तुत गर्दै छैटौं टाइगर कपको आयोजनासँगै शिक्षा, स्वास्थ्यलगायत अन्य सामाजिक कार्यहरुलाई निरन्तरता दिने बताए । त्यस्तै संस्थाले खेलाडी तथा प्रशिक्षकहरुको सम्मान, मुस्ताङमा मुटु स्वास्थ्य अभिमुखीकरण कार्यक्रमलगायत १ दर्जन प्रस्तावित कार्यक्रमहरु तय गरिएको जानकारी दिए ।

संस्थाका कोषाध्यक्ष हरिबहादुर श्रेष्ठले पाँचौ टाइगर कपमा प्राप्त सफलताले उत्साहित रहेको जनाउँदै संस्था गत आवमा दुई दर्जन संस्थाहरुलाई आर्थिक सहयोगसँगै सहकार्य गरेको जनाए । कार्यक्रममा संस्थाका उपाध्यक्ष देवेन्द्र केसी, खेलकुद पत्रकार मञ्चका अध्यक्ष एमवी आस्थाले समेत आफ्ना भनाई राखेका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close