बिनिताको शतकिय पारीमा नेपालको पाकिस्तानमाथि एकतर्फी १० विकेटले विजय

 

पोखरा स्पोर्ट्स । श्रीलंकाको राजधानी कोलोम्वोमा जारी दृष्टिविहिन महिला टि–२० विश्वकपअन्तर्गत मंगलबार भएको अन्तिम लिग खेलमा नेपालले पाकिस्तानलाई १० विकेटले पराजित गर्दै उत्कृष्ट जित दर्ता गरेको छ ।

नेपाली टिमको कप्तानी सम्हालेकी बिनिता पुनको शतकिय पारीमा नेपाली टोलीले जितको लक्ष्य हात पार्न सफल भयो । उनले ५२ बलमा १०० रन बनाएकी थिइन् । हातमा चोट बोकेर तीन दिनको आराम पछि उनी आज पाकिस्तान विरुद्धको खेलमा मैदानमा उत्रिएकी थिइन् ।  उनले ५४ बलमा १३ चौका प्रहार गर्दै १०७ रन बनाउँदा ओपनर मनकेसी चौधरीले ३१ बलमा ४३ रनको योगदान दिइन् ।

टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तान महिला टोलीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७० रनको योगफल तयार गर्यो । पाकिस्तानको तर्फबाट मेहेरीन अलीले ६१ बलमा ७७ रन को उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई उच्च स्कोरसम्म पुर्‍याइन् । अन्य खेलाडीहरू मध्ये मरियम जहाँगीर १७, रिम्सा शबिरले १२ दोहोरो अंक छोए ।

नेपालका लागि बलिङतर्फ सुस्मा तमाङले २ ओभरमा १ विकेट लिइन् । पाकिस्तानले ३३ वाइड र ३ नोबल सहित ३६ अतिरिक्त रन प्राप्त गरेको थियो ।

यता १७१ रनको लक्ष्य पछ्याउन मैदान उत्रिएको नेपाली महिला टोलीले असाधारण प्रदर्शन गर्दै कुनै पनि विकेट नगुमाई १३ ओभरमा लक्ष्य भेट्टाउँदै पाकिस्तानलाई १० विकेटले हरायो ।

यस जितसँगै नेपालले लिग चरणमा चारमा जीत र एक खेलमा हार व्यहोरेको छ । नेपाल यस अघि नै सेमीफाइनलको यात्रा शुरक्षित गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close