गण्डकी प्याराग्लाइडिङ संघका अध्यक्ष दवाडीको निधन

पोखरा स्पोर्ट्स । गण्डकी प्रदेश प्याराग्लाइडिङ तथा ह्याङ्गग्लाइडिङ संघका अध्यक्ष बसन्तराज दवाडीको निधन भएको छ । उहाँको आइतबार राती हृदयघातका कारण निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

५७ वर्षिय दवाडी नेपाली पर्यटन तथा नेपाली सहाशिक खेलकुद विकासको अग्रणी व्यक्तित्वको रुपमा पहिचान बनाउनु भएको थियो । नेपाललाई प्याराग्लाइडिङ खेलकुदको माध्यमबाट पहिचान दिलाउन गठित नेपाल प्याराग्लाइडिङ संघका संस्थापक तथा प्रदेश खेलकुद परिषद गण्डकीका सदस्यका रुपमा चार वर्ष कार्यकाल पुरा गर्नु भएका उहाँ नेपाल हवाई खेलकुद संस्था (ना)का समेत संस्थापक तथा ट्रेकिङ एजेन्सिज एशोसियसन अफ गण्डकी च्याप्टर (टान)का पूर्व अध्यक्षको रुपमा समेत रहनु भएको थियो ।

माछापुच्छ्रे गाउँपालिकालाई समेत प्याराग्लाइडिङ केन्द्रको रुपमा स्थापित गर्न एक वर्ष अघि उहाँकै सक्रियतामा सफल परिक्षण उडान समेत गरिएको थियो । उहाँ नेपालका लागि स्विजरल्याण्डको अवैतनिक राजदुतको रुपमा रहेर कार्य गर्नु भएको थियो ।

उहाँकै सक्रियता तथा अध्यक्षतामा गठित आमा प्रतिष्ठान नेपालले समेत स्थानिय महिलाहरुलाई स्वरोजगार र शिपमुलक तालिम समेत दिंदै आएको थियो भने गरिब तथा विपन्न वर्गका महिला छात्राहरुलाई निशुल्क शिक्षाको समेत व्यवस्था गरेको थियो । सोही प्रतिष्ठानको सक्रियता तथा माछापुच्छ्रे गाउँपालिकाको सहकार्यमा वृद्ध–वृद्धाहरुको लागि आमा भवन समेत निर्माण सम्पन्न भएको छ । 

विभिन्न सामाजिक संघ संस्थामा आवद्ध उहाँ नेपाल भूतपूर्व खेलाडी मञ्चको आजिवन सदस्य समेत रहनु भएको थियो । उहाँको निधनमा मञ्चका अध्यक्ष दिल बहादुर गुरूङले गहिरो दुःख व्यक्त गर्दै नेपाली पर्यटन तथा सहाशिक खेलकुद क्षेत्रले एक अग्रणी व्यक्तित्व गुमाएको बताउँदै भावपूर्ण श्रद्धान्जली व्यक्त गर्नु भएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close