पोखराको बेगनासमा ‘एक्सटेरा नेपाल २०२५’ हुदै, तयारी सुरू

पोखरा स्पोर्ट्स । पोखराको बेगनासलगायत वरपरको क्षेत्रलाई सहाशिक खेलकुदको गन्तव्यको रुपमा अघि बढाउन ‘एक्सटेरा नेपाल २०२५ हुने भएको छ ।

प्रिविङ्कल सर्भिस प्रालिको आयोजनामा हुन लागेको उक्त प्रतियोगिताको दोस्रो संस्करण मंसिर १३–१५ गते आयोजना हुने गरी संस्थाले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ।

संस्थाका प्रवन्ध निर्देशक दिपेश घलेका अनुसार एक्सटेरा प्रतियोगिता ट्रायथलन खेल (स्विमिङ, साइक्लिङ र दौड)को संगम रहेको जनाउँदै यस वर्ष स्वदेशी तथा विदेशी खेलाडीहरुको उत्साहजनक सहभागिता रहेको बताएका छन् । प्रतियोगिताले पोखरा भ्रमणवर्ष २०२५ लाई समेत सकरात्मक प्रभाव पार्नेसँगै भ्रमणवर्ष प्रवर्द्धन समेत गरिएको र पोखरा महानगर पालिका संग सहकार्य रहेको उनले बताए । 

प्रतियोगिताले पोखराको पर्यटन, होटल व्यवसाय र स्थानीय अर्थतन्त्रमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा रहेको उल्लेख गर्दै घलेले भने–‘पोखराको लेखनाथ र बेगनासताललाई खेलकुदमार्फत पर्यटन प्रवर्द्धनलाई अझ सशक्त बनाउने उद्देश्यसहित यो प्रतियोगिता आयोजना गरेका हौं’ उनले थपे, ‘यसलाई सफल बनाउन सबैको सहयोग र सहकार्यका लागि म अनुरोध गर्दछु ।’

प्रतियोगितामा १३ देशका १५० भन्दा बढी प्रतिस्पर्धीको सहभागिता निश्चित भइसकेको छ भने स्थानिय ५० जना समेत सो प्रतियोगितामा आफ्नो उपस्थिती जनाउने छन् । प्रतियोगिता अन्तर्गत स्प्रिन्ट ट्रायथलन अन्तर्गत ७५० मि.पौडी, १४ किमी माउण्टेन बाइक रेस, ६ किमी ट्रेल रनको पहिलो इभेन्ट रहनेछ भने फुल डिस्टेन्स ट्रायथलन अन्तर्गत १.५ किमि स्विमिङ, २८ किमि साइक्लिङ र १२ किमि ट्रेल रन हुनेछ ।

प्रतियोगितालाई थप रोचक बनाउन दुआथलन, ट्रेल रन र २ किमि किड्स रन समेत समावेश गरिएको आयोजकले जनाएको छ ।

पहिलो संस्करणमा सहभागिता जनाएका विदेशी खेलाडीहरूले समेत पोखरालाई विश्वकै उत्कृष्ट मध्ये एक भएको उल्लेख गरेको स्मरण गर्दै घलेले प्रतियोगितालाई पोखरा महानगरपालिकासहित, वडा नं २७, २८, ३० र ३१ ले समेत सहयोग गर्ने जनाए ।

त्यस्तै, बेगनास युवा क्लब, होटल संघ लेखनाथ, स्थानिय तमु समाज, स्थानिय आमा समूह, बेगनास बोट एशोसिएसनलगायतले समेत आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने भएका छन् ।

पोखराको फेवातालमा वाटर स्पोर्टसका गतिविधि हुदै आए पनि पोखराकै अर्को महत्वपूर्ण बेगनास भने वाटर तथा एडभेन्चर स्पोर्टसको गतिविधि सुन्य प्राय रहेको छ । यो प्रतियोगिताले त्यस क्षेत्रमा समेत यस प्रकारका गतिविधि बढ्ने अपेक्षा आयोजकले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close