
पोखरा स्पोर्ट्स । दृष्टिविहिन महिला टि२० विश्वकप क्रिकेटमा नेपाल सेमीफाइनलमा प्रवेश गरेको छ । अमेरिका विरूद्ध आइतबार अमेरिकालाई ९.४ ओभरमा १७ रनमा अलआउट गरे संगै दृष्टिबिहिन महिला टि२०मा किर्तिमान समेत स्थापित गरेको हो । नेपालले सन २००६ मा पाकिस्तानले वेस्ट इन्डिजविरुद्ध बनाएको २१ रनको पुरानो विश्व–कीर्तिमानलाई तोडेको छ ।
नेपालले अमेरिकालाई १७ रनको झिनो रनमा समेटेर किर्तिमान मात्रै बनाएन, सबै भन्दा कम बल जम्मा ४ बलमा लक्ष्य हासिल गर्दै अन्तर्राष्ट्रिय क्रिकेटमा अर्को किर्तिमान स्थापित गरेको छ ।

आजको खेलमा नेपालले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै अमेरिकालाई ९.४ ओभरमा मात्र १७ रनमा अल–आउट गर्यो । १८ रनको लक्ष्य नेपालले प्रतियोगिता अवधिकै उत्कृष्ट प्रदर्शन गर्दै केवल ०.४ ओभरमै पुरा गर्दै १० विकेटले जीत दर्ता गर्न सफल भएको छ । अमेरिकी तीन जना खेलाडीले टिमका लागि जम्मा ४ रन बनाउँदा १३ रन अतिरिक्त पाएको थियो । अन्य खेलाडी शुन्य रनमा आउट भएका थिए ।
अमेरिकालाई सस्तैमा रोक्न डिल्लिसरा धमलाले ४ ओभरमा १० रन दिएर तीन विकेट लिन सफल भइन् । सरिता घिमिरेले १ विकेट हात पारिन् । अन्य खेलाडी भने रन आउट भएका थिए । आजको खेलमा डिल्लिसरा प्लेयर अफ दि म्याच घोषित हुँदै नगद १० हजार प्राप्त गरिन् ।
यस शानदार जितसँगै नेपाल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ । नेपालले आफ्ना चार खेलमा एकमा हार र तीनमा जित हात पारेको छ । नेपालले अब लिगमा पाकिस्तान विरुद्ध एक खेल खेल्न बाँकी छ ।
