एम्स, सिटि म्याराथन र पोखरा

पोखरा स्पोर्ट्स/ हरिप्रसाद पराजुली । विश्व परिवेशमा यति बेला “सिटि म्याराथन” वा दौडहरु आयोजना हुनु स्वाभाविक बन्दै गएको छ । आफू बस्ने शहरलाई विश्वमाझ खेलकुद शहरको रुपमा स्थापित गर्दै आफ्नो शहर खेलकुद गतिविधिमा सक्रिय छ तथा खेलकुदमार्फत स्वस्थ्य छ भन्ने सन्देशका लागि पनि सिटी म्याराथन यति बेला विश्वका साना ठूला शहरहरुमा हुने गर्दछन् ।

भन्ने गरिन्छ जुन शहरमा खेलकुद गतिविधि हुदैन त्यो मृत शहर हो । यहि अवस्थालाई चिर्दै नेपाल चरम द्वन्दको अवस्था र खेलकुद गतिविधि मार्फत आम नागरिकमा जागरूकताका साथै सक्रियता ल्याउन पोखरा म्याराथन सुरूवात भएको हो । नेपालमा समेत सिटी म्याराथनको अवधारणा २०५८ सालबाट सुरूवात भएको हो । नेपाल भूतपूर्व खेलाडी मञ्चले यसको प्रारम्भ गर्दै दक्षिण एसियाली राष्ट्रहरुमा सिटी म्याराथन आयोजना गर्ने दोस्रो म्याराथनको रुपमा आफूलाई स्थापित गरेको छ । यसका साथै काठमाण्डौ म्याराथन र पछिल्लो समय नेपालगञ्ज म्याराथन समेत यसमा थपिएको छ ।

म्याराथन म्याराथन आयोजनाका लागि मात्रै नभई पर्यटन प्रवर्द्धन गर्ने महत्वपूर्ण परिवेशको रुपमा लिइन्छ । जहाँ हजारौ दौडन्छन् । शहर नै दौडमय हुन्छ । सडक ठप्प हुन्छ । त्यहाँ दौडने मात्रै वा पुरस्कार विषय मात्रै जोडिएको हुँदैन । विशेष सहयोग ‘च्यारिटी’का लागि समेत दौडनेको संख्या हजारौ हुन्छ । जुन दौड समाजका लागि विशेष समेत रहेको हुन्छ ।

अमेरिकाको बोष्टन म्याराथन विश्वकै पहिलो सिटी म्याराथनको रुपमा परिचित छ । सन १८९७ मा सुरू भएको बोष्टन म्याराथनको इतिहासले नै आज विश्वमा व्यापकता पाएको छ ।

सिटि म्याराथनको अवधारणा र भूतपूर्व खेलाडी मञ्च
-सर्वसाधारणमा दौडीने बानी तथा स्वस्थ जीवन शैलीको विकास गर्ने
-समूदायमा एकता, विभिन्न उमेर समूहमा अन्तरसम्बन्ध र समूह समूह बिच समावेसी सहभागिता गराउने
-शहरको ब्रान्डीङ्ग गरी पर्यटन, व्यापार र स्थानीय पहिचान गराउने ।
-वातावरण संरक्षण महिला शसक्तिकरण, दुर्ब्यसनी नियन्त्रणमा सहयोगी भूमिका निर्वाह गर्ने प्रत्यक्ष प्रभाव
– खेलाडी उत्पादनमा टेवा पुग्ने
-देश विदेशका खेलाडीहरु आकर्षक हुने
– होटल, रेष्टुरेण्ट यातायात, पर्यटन, व्यवसायबाट आम्दानी बढ्न गई रोजगारी सृजना हुने ।
-सहरको राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा चिनारी हुने ।
– स्थानीय संस्कृति, सम्पदा र आकर्षक स्थलहरुको पहिचान र प्रचार हुने ।
-निजी र सरकारी क्षेत्र बिच सहकार्यको विकास हुने ।
-वार्षिक परम्पराको विकास हुने ।
-यूवालाई सक्रिय नागरिक बनाइने ।
-व्यवसायिक तथा स्वच्छिक दौडका लागि मंच तयार हुने ।
-प्रतिभा पहिचान र खेलकुद विकासमा योगदान पुग्ने ।
-राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताको लागि अवसर मिल्ने ।

यसै अवधारणा बमोजिम नेपाल भूतपूर्व खेलाडी मञ्च आफ्नो यूवा अवस्थामा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा खेलका पूर्व खेलाडी तथा खेलकुदमा विशेष योगदान पूर्‍याएका व्यक्तिहरुले २०५८ सालमा स्थापना गरेको संस्था हो । विविध खेलकुदसंग आबद्ध सदस्यहरुको संलगनता रहेको नेपाल भूतपूर्व खेलाडी मञ्चको प्रमुख उद्देश्य मुलुकको खेलकुद विकासमा सहयोग पुर्‍याउने र खेलकुदको महत्वबारे जनचेतना अभिवृद्धि गराई समग्र समाजमा खेल संस्कृतिको विकास गराउनु रहेको छ ।

वर्तमान विश्व परिवेसमा चर्चित शहरको नाममा आयोजना गरिने “सिटि म्याराथन” को अवधारणा अनुसार यस सुन्दर पर्यटकीय नगरी पोखरालाई खेलकुदको क्षेत्रमा स्थापित गराई खेलकुद पर्यटन (Sports Tourism) प्रवर्द्धन गरि उत्सवको रुपमा मनाउने गरी हरेक वर्ष फाल्गुण महिनाको पहिलो शनिबार पोखरा अन्तराष्ट्रिय म्याराथनको आयोजना हुँदै आइरहेको छ । यस प्रतियोगिताका उद्देश्यहरु यस प्रकारका रहेका छन् ।

-विभिन्न जिल्ला नगरपालिका र गाउँपालिकामा भएका प्रतिभावान खेलाडीहरु पोखरामा भेला गराई राष्ट्रिय एकता, समझदारी र बन्धुत्व भाइचाराको विकास गराउने ।
-स्वच्छ पोखरा स्वस्थ पोखरेली भन्ने भावनाको आत्मासाथ गराउने
-पोखराको पर्यटकिय प्रवद्र्धनमा टेवा पुर्‍याउने
=खेलकुदको माध्यमबाट अनुशासित स्वस्थ कर्मठ एवं अव्वल नागरिक उत्पादन गर्ने ।

पोखराको वरिपरि हिमालै हिमाल र पोखराको बिच भागमा तालहरु भएको पोखरासंग जोडिएर डाँडा-काडाँ झरना खोला र रोमाञ्चक गल्छीहरु भएको प्राकृतिक सौन्दर्यले भएको शहर हो । पोखरा खेलकुद शिक्षा साहित्य कला संस्कृतिको उर्वरभुमि हो । त्यसैले पोखरा नेपालीहरु र विदेशी पर्यटकहरुका लागि पावन भूमि हो ।

पोखराका नागरिकहरुले खेलकुद प्रतिको सकारात्मक भावन रहेको, प्राकृतिक सुन्दरता, आतिथ्यता स्वागत, स्तरिय होटल, स्वास्थ्य तथा सुरक्षाको उचित व्यवस्था, अनुकुल मौसम, आवश्यक खेल मैदानले म्याराथन लगायत अन्य अन्तर्राष्ट्रिय प्रतियोगिताहरुको आयोजना गर्न सक्षम छ । पोखरा म्याराथन नेपालकै जेठो म्याराथन हो । यसको आयोजना १९ औं संस्करणसम्म सफल रुपमा सम्पन्न भएको छ । यो पोखरा म्याराथनले सन् २०२३ मा AIMS को सदस्यता प्राप्त गरेको छ ।

के हो त एम्स ?  AIMS (Association of International Marathon and Distance Races)
विश्वभर म्याराथनको आयोजक संस्थाहरुलाई समट्ने गरी छाता संस्थाको रुपमा गठित अन्तर्राष्ट्रिय संगठनको रुप हो । यो संस्था सन् १९८२ मा लन्डनमा स्थापना भएको थियो । एम्समा ४५० भन्दा बढि म्याराथन आयोजक संस्थाहरुको आवद्धता छ । विश्वका १३५ देशमा यस सदस्य संस्थाहरु छन् । यसको मुख्य कार्यालय ग्रिसमा छ ।

एम्सको सदस्यता प्राप्त भएपछि आयोजना गरिने दौड (Races)लाई अन्तर्राष्ट्रिय आधिकारीक मान्यता मिल्छ । अन्तर्राष्ट्रिय कार्य सुचिमा समावेश हुन्छ । एम्सले दौडलाई विश्वभरका धावक, पर्यटन एजेन्सी तथा मिडियाहरुमा प्रचार प्रसार गर्न सहज बनाउछ ।

एम्स र  पोखरा म्याराथन 
एम्सको सदस्यता प्राप्त भएसंगै पोखरा म्याराथनलाई प्राविधिक रुपमा IT Friendly  बनाउने प्रयास भएको छ । खेलाडीहरुले अनलाइन दर्ता गर्न सक्ने व्यवस्था, क्युआरको माध्यमबाट दर्ता शुल्क भुक्तानी र प्रतियोगिताको जानकारीका लागी Website को व्यवस्था पनि गरिएको छ । धावकहरुलाई Chips लगाएर दौडने व्यवस्था मिलाइएको छ भने Timing Read  गर्नका लागि Start Point / Finishing Point र Sensor Machine को व्यवस्था मिलाइएको छ ।

त्यस्तै गरी म्याराथनको रुट भरि टोल विकास संस्था, आमा/महिला समूह, जातिय एवम् धार्मिक संस्थाहरु, विभिन्न क्लब तथा अन्य संघसंस्थाहरु, नेपाली सेना सशस्त्र प्रहरी बल, नेपाल प्रहरीबाट खेलाडीहरुलाई स्वागत सत्कार, हौसला एवम् शान्ति सुरक्षाको व्यवस्था भइरहेको छ । यस प्रतियोगितालाई पोखरा स्थित विभिन्न अस्पतालहरु, एम्बुलेन्स सेवाहरु, चिकित्सकहरु, स्वास्थ्यकर्मीहरु, फिजियोथेरापिष्टहरुबाट स्थास्थ्य सुरक्षाको लागि राम्रो सहयोग भइरहेको छ ।

पोखरा अन्तर्राष्ट्रिय म्याराथन पोखरा रङ्गशालाबाट सुरु भएर पोखराको मुख्य मुख्य बजार भाग भई विभिन्न मठ मन्दिर, फेवा तालको किनारै किनार हूँदै रमणीय पहाड र अति सौन्दर्य हिमालहरुको काखमा दृश्यावलोकन गर्दै धावकहरुलाई दौडाउने व्यवस्था मिलाइएको छ ।

सिटी म्याराथन म्याराथनका लागि म्याराथन मात्रै नभई म्याराथन आयोजना हुने शहरको विकास, सभ्यता, संस्कृतीसंग समेत जोडिएको हुन्छ । त्यही मान्यता अनुरुप म्याराथन आयोजना हुने शहरको मापन गर्दै अन्तर्राष्ट्रिय म्याराथनहरुको छाता संस्था ‘एशोसियसन अफ इन्टरनेशनल म्याराथन एण्ड डिस्टेन्स रेसेस (एम्स)ले समेत् मान्यता दिने गर्दछ भने अर्कातर्फ अन्तर्राष्ट्रिय एथलेटिक्स महासंघले समेत यस्ता दौडहरुको मापन गरी मान्यता दिने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close