
पोखरा स्पोर्टस ।
नेपाल ओलम्पिक कमिटि (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले महिला विश्वकप खेल्न जाने नेपाली टोलीलाई बिदाई गरेका छन् ।
बंगलादेशको राजधानी ढाकामा यहि नोभेम्बर १५ देखि २५ सम्म दोस्रो महिला कबड्डी विश्वकप–२०२५ आयोजना हुदैछ । विश्वकपमा सहभागी हुन नेपाली महिला टोली आज नै त्यसतर्फ प्रस्थान गर्दैछ ।
एनओसी अध्यक्ष श्रेष्ठले खेलाडीहरूलाई शुभकामना दिंदै अनुशासन, दृढता र राष्ट्रिय गौरवसहित नेपालको प्रतिनिधित्व गर्नेमा आफू विश्वस्त रहेको बताउँदै नेपाली टोलीले विश्वकपमा आफ्नो क्षमता प्रदर्शन गर्ने बताए ।
महिला कबड्डी विश्वकपमा नेपालसहित १२ देशको सहभागीता रहेको छ । सहभागी देशहरूमा बंगलादेश, भारत, जापान, जर्मनी, केन्या, चिनियाँ ताइपेई, थाइल्यान्ड, इरान, युगाण्डा, अर्जेन्टिना र इन्डोनेसिया रहेका छन् । नेपाल समूह ‘ए’ मा रहेको छ र टोलीले आफ्नो पहिलो खेल नोभेम्बर १७ मा खेल्नेछ ।
विश्व बरियतामा–३ मा रहेको नेपाल महिला कबड्डी टोलीले उत्कृष्ट प्रदर्शन गर्दै पदक सहित फर्किने विश्वास रहेको एनओसी महासचिव राजिव श्रेष्ठले व्यक्त गरेका छन् ।
नेपाली टोलीको कप्तानी मनमती विष्टले गर्नेछिन । त्यसै गरी नेपाली टोलीमा जयन्ती बडु, रबिना चौधरी, आशिका कंवर, गंगा घिमिरे, मीना नेपाली, मनुका कुमारी राजवंशी, सृजना कुमारी थारु, उरुसा शाक्य, मनिषा जोशी, बिनिता पण्डित क्षेत्री, आस्मा यादव, सञ्जु थामी र सृजना धनुक रहेका छन् ।
नेपाली टोलीको प्रशिक्षकमा विष्णु दत्त भट्ट, सहायक प्रशिक्षकमा हरिना थापा, टिम म्यानेजरमा सरद दर्शन्धारी र टेक्निकल अफिसियलमा रमेश चन्द्र ओझा रहेका छन् ।
बिदाइ कार्यक्रममा एनओसी नेतृत्व तथा अखिल नेपाल कबड्डी संघका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
