
पोखरा स्पोर्ट्स । पोखरामा पहिलो पटक आयोजना हुने ‘एक्सट्रिम एनर्जी ड्रिङ्क्स पोखरा १० के रेस’मा १ हजार ३ सय जना सहभागि हुने भएका छन् । कास्की जिल्ला एथलेटिक्स संघले बिहिबार एक पत्रकार सम्मेलनमार्फत सम्पूर्ण तयारी पुरा भएको जनाएको हो । प्रतियोगिता यहि कार्तिक २९ गते शनिबारका दिन हुने छ ।
पोखरा रंगशालाबाट सुरू हुने दौडमा १० किमितर्फ ४६२ जनाले सहभागिता जनाएका छन् । जस मध्ये पुरूष ४१० र महिलातर्फ ५२ जना रहेको कास्की एथलेटिक्सका सचिब सिद्धान्त अधिकारीले पोखरा स्पोर्ट्सलाई जानकारी दिए ।
त्यस्तै विद्यालयस्तरिय ५ किमि दौड छात्र/छात्रातर्फ कुल ७३८ जनाको सहभागिता रहने छ । जसमध्ये छात्रतर्फ ४८२ जना र छात्रातर्फ २५६ जनाको सहभागिता रहेको छ ।
एथलेटिक्स खेलको विकास र प्रवर्द्धन पहिलो पटक आयोजना गरिएको पोखरा १० के रेसमा उत्साहजनक रूपमा खेलाडीले देशैभरबाट आफ्नो नाम दर्ता गरेको कास्की एथलेटिक्स संघका अध्यक्ष अध्यक्ष गज बहादुर गुरूङले जनाएका छन् । खेलाडी उत्पादन र पोखरालाई दौडको शहरको रुपमा चिनाउन पोखरा १० के रेस महत्वपूर्ण हुने जनाउँदै सफल बनाउन सम्पूर्ण पोखराबासीहरु लाई उनले आग्रह गरेका छन् ।
१० किमि दौड पहिलो हुने देखि लिएर पाँचौ स्थान सम्म प्राप्त गर्ने महिला/पुरूषतर्फ समान नगद रु २०, १५, १०, ७ र ५ हजारका साथमा मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । यसका साथै दौड स्थानिय खेलाडीहरुको हौसला बढाउन पोखरा च्याम्पियनतर्फ समेत नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । पोखरा च्याम्पियन महिला तथा पुरुषतर्फ क्रमश नगद रु ५, ३ र २ हजार प्रदान गरिने भएको छ ।
त्यस्तै, विद्यालय छात्र÷छात्रा दौडतर्फ क्रमश पहिलो देखि पाँचौ स्थान सम्मका लागि १०, ७, ५, ३ र २ हजार नगद प्रदान गरिने छ ।
सो दौडमा गण्डकीका बादल कार्की, नारायणी अधिकारीलगायत खेलाडीहरुले सहभागिता जनाउने छन् ।
यसै गरी, २५ जना फिनिसरलाई गिफ्ट ह्याम्परको समेत व्यवस्था आयोजकले गरेको छ । पोखरा १०के दौड फिनिसरहरुलाई मेडल प्रदान गरिने आयोजकले जनाएको छ । एग्रो थाई फुड्सको उत्पादन एक्सट्रिम एनर्जी ड्रिङ्क टाइटल स्पोन्सर रहेको प्रतियोगितालाई प्रदेश खेलकुद परिषद गण्डकी, जिल्ला खेलकुद विकास समिति कास्की, पोखरा महानगर पालिका र सोल्टी पिउने पानीले सहकार्य गरेको आयोजकले जनाएको छ ।
प्रतियोगिता सम्पन्न गर्न करिव १५ लाख खर्च लाग्ने संघका कोषाध्यक्ष गोपी बहादुर अधिकारीले जनाएका छन् ।
