दृष्टिविहिन महिला वर्ल्डकप टि२० खेल्न जान लागेको नेपाली राष्ट्रिय टोलीलाई बिदाई

पोखरा स्पोर्ट्स । दृष्टिविहिन महिला वर्ल्डकप टि२० खेल्न भारत र श्रीलकातर्फ प्रस्थान गर्न लागेको टोलीलाई शनिबार बिदाई गरिएको छ । प्रादेशिक क्रिकेट संघ गण्डकीले एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई बिदाई गरिएको हो । टोलीलाई संघका अध्यक्ष सञ्जयकान्त सिग्देललगायतले पोखराबाट बिदाई गरेका थिए । राष्ट्रिय टोलीले एक साता पोखरामा बन्द प्रशिक्षणमा रहेको थियो ।

बिदाई कार्यक्रममा बोल्दै अध्यक्ष सिग्देलले वर्ल्डकपमा सहभागिता जनाउन लागेको टोलीलाई शुभकामना दिंदै नेपाली टोलीले वर्ल्डकपमा नेपालले आफ्नो उत्कृष्टता प्राप्त गर्न सफल हुने बताए । उनले भने–“यो नेपाली क्रिकेटका लागि महत्वपूर्ण अवसर हो । पहिलो पटक आयोजना भएको प्रतियोगितामा नेपाली झण्डा फहराउनु यो आफैमा गौरवको विषय हो । हामी क्रिकेटका मात्रै होइन नेपाली सबैका लागि महत्वपूर्ण क्षण हो ।”

यसै क्रममा राष्ट्रिय टोलीमा सहभागि गण्डकी प्रदेशकी खेलाडी विनिता पुनलाई खेलकुद पत्रकार मञ्च गण्डकीले नगद ७ हजार ७७७ सहित सम्मान गर्दै जितको शुभकामना दिएको छ । 

यसै क्रममा नेत्रहीन क्रिकेट संघ कास्कीका अध्यक्ष प्रमोद दाहालले वर्ल्ड कपमा प्रत्येक चौकाको नगद रु ५ सय र शतको नगद रु ५ हजार दिने घोषणा गरेको नेत्रहिन क्रिकेट संघ, नेपालका महासचिव अमृत बरालले पोखरा स्पोर्टसलाई बताए ।

प्रतियोगिताको उद्घाटन खेल भारतको नयाँदिल्ली फाइनल खेल श्रीलंकाको कोलोम्बोमा नोभेम्वर २ (मंसिर ७) गते हुनेछ । नेपालसहित भारत, श्रीलंका, पाकिस्तान, अस्ट्रेलिया, अमेरिका, इङल्याण्डले पहिलो पटक आयोजना हुन लागेको दृष्टिविहिन महिला विश्वकप टि–२० मा सहभागिता जनाउने छन् ।

क्याब–नेपालले पहिलो पटक आयोजना हुन लागेको टि–२० विश्व दृष्टिविहीन महिला क्रिकेट विश्वकपका लागि १६ सदस्यीय राष्ट्रिय टिम घोषणा गरिसकेको छ । 

नेपाली टिमको कप्तानी गीता पौडेलले सम्हाल्ने छिन् । टिममा विनिता पुन, विनिता सोमाई, दिल्ली सरा धमला, देवकी थापा मगर, अङ्गिला ढकाल, मनकेशी चौधरी, कान्ती डगौरा, सरिता घिमिरे, सुनीता भुजेल, सुष्मा तामाङ, पुनम चौधरी, लक्ष्मी तामाङ, एसरा माया लुङ्गेली मगर, विमला राई र प्रतिभा राई रहेका छन् ।

त्यस्तै पुरनसिंह खत्रीलाई प्रमुख प्रशिक्षक, नरेन्द्र निरौलालाई सहायक प्रशिक्षक र भगवती भट्टराई बराललाई टिम म्यानेजरका रूपमा रहने भएको क्याब नेपालले जनाएको छ ।

नेपालले आफ्नो पहिलो खेल कार्तिक २६ गते भारतको राजधानी नयाँदिल्लीमा श्रीलंका विरुद्ध खेल्नेछ भने कार्तिक २८, २९ र ३० गते क्रमश भारत, इङल्याण्ड र अमेरिका संग भिड्नेछ । ति देशबीचको खेल भने भारतको पर्यटकिय गन्तव्य बैंगलोरमा सञ्चालन हुनेछन् ।

त्यस्तै नेपालले पहिलो चरणमा नै श्रीलंकाको कोलोम्बोमा मंसिर २ गते अस्ट्रेलिया र मंसिर ३ गते पाकिस्तान विरुद्ध खेल्ने तालिका रहेको छ । पोखराबाट बिदाई भएको राष्ट्रिय टोली सोमबार मित्रराष्ट्र भारत प्रस्थान गर्ने तय भएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close