
पोखरा स्पोर्ट्स । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए)ले अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेलाडीहरु संग गरिएका पछिल्ला गतिविधिप्रति कडा आपत्ति जनाएको छ।
संघले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा एन्फाले लिग प्रतियोगिता सञ्चालन नगरेको कारण खेलाडीहरू रोजगारविहीन बनेको भन्दै गम्भीर असन्तुष्टि व्यक्त गरेको हो । संघका अध्यक्ष दीपक श्रेष्ठद्वारा जारी विज्ञप्तिमा एन्फाको हालको नेतृत्व खेलाडीको हित विपरीत कार्य गर्दा एक सय भन्दा बढि खेलाडीहरु रोजगारको अवसर गुमाएको र विदेशिन बाध्य भएको जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ, “खेलाडीले खेल्न पाउनु अधिकार हो भने खेल आयोजना गर्नु संघको दायित्व हो । लामो समयदेखि लिग सञ्चालन नहुँदा खेलाडीहरू विदेशिन बाध्य भएका छन् । एन्फाको वर्तमान नेतृत्व आफ्नो दायित्वबाट विमुख भएको छ, जसका कारण सयौँ खेलाडी बेरोजगार भएका छन् ।”
खेल आयोजनाका लागि आफ्नै संघविरुद्ध खेलाडीहरू आन्दोलनमा उत्रिनु लज्जास्पद विषय भएको उल्लेख गर्दै विज्ञप्तिमा एन्फा नेतृत्वलाई गम्भीर भएर समस्या समाधानका लागि पहल गर्न आग्रह गरिएको छ ।
संघले खेलाडीको पेशागत अधिकारको सम्मान गर्न, खेलमै समर्पित रहने वातावरण बनाउन र खेलाडीको भविष्यमा असर पर्ने निर्णय नगर्न एन्फालाई चेतावनी दिएको छ । साथै, समस्याको समाधानका लागि वार्ता र संवादमार्फत सकारात्मक निष्कर्षमा पुग्न र शीघ्र लिग सञ्चालनको वातावरण तयार गर्न सुझाव दिएको छ ।
विज्ञप्तिमा थप भनिएको छ— “फुटबल खेलाडीको हक र अधिकारका विषयमा हुने सबै खाले आन्दोलनमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ सधैं एकताबद्ध रहनेछ ।”
