
पोखरा स्पोर्ट्स । नेपाली टेनिस स्टार खेलाडी अभिषेक बास्तोला यूटिआर प्रो टेनिसमा सहभागिता जनाउने भारत जाने भएका छन् ।
यहि नोभेम्बर ९ देखि १५ तारिखसम्म भारतको बैगलोरमा सञ्चालन हुने सो प्रतियोगितामा सहभागिताका लागि त्यसतर्फ प्रस्थान गर्न लागेको अभिषेकले बताएका छन् । अमेरिकामा बसेर प्रशिक्षण लिंदै आएका उनले यूटिआर प्रो टेनिसमा हाल सम्म अमेरिकाका विभिन्न राज्यमा सञ्चालन भएको प्रतियोगितामा १२ पटक र जापान एक पटक गरी १३ पटक सहभागिता जनाइ सकेका छन् । उनको सो प्रतियोगितामा १४औं पटक रहको उनले जनाए ।
भारतमा पहिलोपटक आयोजना हुन लागेको सो प्रतियोगितामा भारतीय शीर्ष खेलाडीहरुसहित विभिन्न देशका गरी २० खेलाडी सहभागी हुनेछन् । यो प्रतियोगितामा नेपाली व्यवसायिक टेनिस खेलाडीको पहिलो सहभागिता पनि हुनेछ ।
नेपाली खेलाडीको रुपमा आफ्नो यो पहिलो सभागिता रहेकोले पनि आफू निकै उत्साहित रहेको जनाउँदै अभिषेकले आफ्नो लक्ष्य भनेको नै अब ओलम्पिकको यात्रा रहेको बताए । “भारतमा नेपाली खेलाडीको रुपमा पहिलोपटक सहभागी हुन पाउनु गर्वको विषय हो,” अभिषेकले भने, “मेरो लक्ष्य अब ओलम्पिकसम्म पुग्ने हो, त्यसका लागि म लगातार मेहनत गरिरहेको छु ।”
सान २०२४ मा सम्पन्न डेभिस कपमा उनी च्याम्पियन भए संगै नेपालको वरियता समेत पाँचौबाट चौथो स्थानमा उक्लिएको थियो । विश्वका धेरै देशहरुमा नेपाली खेलाडीको रुपमा विभिन्न प्रतियोगिताहरुमा आफू सक्रियता पूर्वक सहभागिता रहेको जनाउँदै सन २०२५को डेभिस कपमा सहभागिता जनाउन नपाउँदा आफू निकै दुखित भएको उनको भनाई थियो ।
विश्वमा यूटिआर प्रोफेशनल टेनिसका प्रतियोगिताहरु अघि बढेकोले पनि प्रोफेशनल खेलाडीको रुपमा आफूले यो अवसर प्राप्त गरेको अभिषेकले बताए । उनले भने–“यहाँ सहभागिता जनाउन पाउनु पनि निकै कठिन र चुनौती छ । तर आफ्नो निरन्तर अभ्यास र सहभागिताले मैले यो अवसर प्राप्त गरेको छु । म आफू नेपाली खेलाडी हुनुमा गौरव गर्छु ।”
१३ वर्षको उमेरबाट निरन्तर टेनिसमा लागेको अभिषेक टेनिसमा लागेको पनि १५ वर्ष भइसक्यो । कुनै बेला विद्यार्थीको रुपमा अमेरिका प्रवेश गरेका उनी यति बेला आफ्नो प्रशिक्षण अमेरिका र नेपालमा जारी राखेका छन् भने विभिन्न प्रतियोगिता सहभागिता जनाउँदै नेपाली झण्डा विश्वमाझ उठाउन उनको योगदान महत्वपूर्ण छ ।
