
पोखरा स्पोर्ट्स । पोखरा रंगशालाई संधैभर चलायमान बनाउन जिल्ला खेलकुद विकास समिति कास्कीले ‘होलिडे स्पोर्ट्स’को अवधारणा अघि सारेको छ । सो क्रममा जिल्ला खेलकुद कास्कीले विभिन्न विद्यालयहरुको छाता संस्थाका पदाधिकारीहरु संग एक बैठक बसी सो अवधारणा अघि सारेको समितिका कार्यालय प्रमुख डिबी नेपालीले पोखरा स्पोर्टसलाई बताए ।
राज्यको करौडौको लागतमा निर्मित पोखरा रंगशाला जेन्जी आन्दोलन संगै सूस्तता आएकोले होलिडे स्पोर्टसको अवधारणाले चलायमान बनाउन सहयोग पुग्ने जिल्ला खेलकुद कास्कीका अध्यक्ष मिलन गुरूङले बताए । उनले भने–“हामीले नयाँ अवधारणाका लागि पनि विद्यालयका छाता संस्थाहरु संग बैठक बसेका छौं । यसले रंगशाला विद्यार्थीमैत्री बनाउन र यूवा खेलाडी उत्पादनमा सहमेत सहयोग पुग्नेछ ।”
जिल्ला खेलकुदले हिसान, प्याब्सन, एन प्याब्सन कास्कीका पदाधिकारीहरुलाई समितिमा नै बोलाएर रंगशाला विद्यार्थीमैत्री बनाउने विषयमा छलफल गरेको थियो । सो अवधारणा अनुरुप हिसान कास्कीका उपाध्यक्ष पुरन कुंवरलाई कार्यविधि तयार गर्न जिम्मेवारी समेत दिएको छ ।
पोखरालाई खेलकुदमय बनाउन हिसान कास्कीले वर्षेनी विभिन्न प्रतियोगिताहरु सञ्चालन गर्दै आएको छ भने अन्य संस्थाहरुले दुई वर्षमा एक पटक प्रतियोगिताहरु सञ्चालन गर्दै आएका छन् । जिल्ला खेलकुदले खेलकुद संस्था बाहेक अन्य संस्थाहरुलाई रंगशाला प्रयोग गर्दा शुल्क तोक्दै आएकोमा अब विद्यालयहरुलाई सहजरुपमा प्रयोग गर्न दिने भन्ने बारे समेत छलफल भएको बैठकमा सहभागि जिल्ला खेलकुदका उपाध्यक्ष तिलक बहादुर अधिकारीले बताए ।
के हो होलिडे स्पोर्ट्स अवधारणा
जिल्ला खेलकुद विकास समितिले अघि सारेको होलिडे स्पोर्ट्स अवधारणा विदाका दिनको सुमचित प्रयोग गर्दै प्रतियोगिताहरु सञ्चालन गर्ने रहेको समितिका कार्यालय प्रमुख नेपालीले बताए । उनले भने–“विद्यार्थीहरु नै भावी खेलाडीहरु हुन् । उनीहरुलाई रंगशालामा सहज पहुँच पुर्याउन हामीेले यो अवधारणाा ल्याएका हौं । पहिलो चरणमा होलिडे स्पोर्ट्समा फुटबल र क्रिकेटको प्रतियोगिता सञ्चालन गर्नेछौं ।”
पहिलो चरणको नतिजा पश्चात अन्य पाँच खेलहरु थप्ने योजनाका साथ जिल्ला खेलकुद र विद्यालयका छाता संस्थाहरुले आफ्ना कार्य अघि बढाउने भएका छन् । ‘होलिडे स्पोर्टस’को अवधारणा नै विद्यालय विद्यालय बीच प्रतियोगिताहरु लिगका आधारमा सञ्चालन हुनेछन् ।
नेपालीका अनुसार दोस्रो चरणमा ह्याण्डबल, व्याडमिन्टन, भलिबल, टेबुल टेनिस, बास्केटबलका प्रतियोगिताहरु थप गरिनेछन् । जसका कारण रंगशाला चलायमान बनाउने संगै विद्यार्थीहरु भित्र रहेको क्षमता खेलकुदमार्फत प्रस्फुटन गर्न सहज हुने विश्वास गरिएको छ भने खेलाडी उत्पादनमा समेत महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
यस्तै प्याब्सन कास्कीका अध्यक्ष षडानन्द गौतमले यो अवधारणाले रंगशाला विद्यार्थीमैत्री र खेलमैत्री बनाउन सहयोग पुग्ने उनले बताए । “हामीले विगतबाट यो अवधारणा सुरू गर्न सोच बनाएका हौं । रंगशाला विदाको दिन पनि चलायमान र सुचारु छ भन्ने सन्देश जानेछ भने जिल्ला खेलकुद समिति मातहतमा रहेको खेल संघहरु, प्रशिक्षकहरुलाई समेत चलायमान बनाउन भूमिका खेल्नेछ ।”
