
पोखरा स्पोर्ट्स | सिद्धार्थ बैंकको मुख्य प्रायोजनमा १७औं काठमाडौँ म्याराथन २०२५ आउँदो कार्तिक १५ गते (१ नोभेम्बर २०२५, शनिबार) का दिन सञ्चालन हुने भएको छ । आयोजकले म्याराथनका सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।
यस वर्षको म्याराथनमा १३ विधा समावेश गरिएका छन् । तीमध्ये म्याराथन (४२.१९५ कि.मी) का Open, 40+, 50+, 60+ वर्गहरू; हाफ म्याराथनका Open, 40+, 50+ वर्गहरू; १० कि.मी Open र Masters; ५ कि.मी Open तथा ३ कि.मी Open/School Run/Family Run समावेश छन् ।
खेलाडी दर्ता कार्तिक १० गते (अक्टोबर १८) बन्द गरिएको थियो । आयोजकका अनुसार ३ हजार खेलाडीले आफ्नो नाम दर्ता गरिसकेका छन्, जसमा २६ राष्ट्रका १०६ अन्तर्राष्ट्रिय खेलाडी सहभागी हुनेछन् ।
दौड पूरा गर्ने सबै धावकले फिनिसर्स मेडल र प्रमाणपत्र पाउनेछन् भने विजेताले प्रमाणपत्र, विनर्स मेडल, नगद पुरस्कार र उपहारहरू प्राप्त गर्नेछन् ।
यस संस्करणको मुख्य प्रायोजक सिद्धार्थ बैंक रहेको छ । अन्य प्रायोजकहरूमा क्याथे प्यासिफिक, हुवावे, डिपैसा, सजिलो, सुजल डेरी, आर्थर, नेक्सलो, नेक्टर स्पा, हिमाल बेकरी र जार/पूर्ण वाटर रहेका छन् ।
म्याराथनको रुट दशरथ रंगशाला, त्रिपुरेश्वरबाट सुरु भई थापाथली, पुल्चोक, जावलाखेल, लगनखेल, सातदोवाटो, कोटेश्वर, भक्तपुर दरबार स्क्वायर, पशुपतिनाथ, माहाराजगंज, केशरमहल, सुन्धारा हुँदै पुनः दशरथ रंगशाला फर्किने गरी ४२.१९५ कि.मी. दूरी तय हुनेछ ।
प्रतियोगितालाई नेपाल एथलेटिक्स संघको मान्यता र राष्ट्रिय खेलकुद परिषदको स्वीकृति प्राप्त छ । साथै, नेपाल पर्यटन बोर्ड, काठमाडौँ, ललितपुर, भक्तपुर, मध्यपुर ठिमी र सूर्यविनायक नगरपालिका तथा तिनै जिल्ला प्रशासन कार्यालयहरूको सहकार्यमा म्याराथन आयोजना हुँदैछ ।
आयोजकले नेपाल ट्राफिक प्रहरीसँग शान्ति सुरक्षा र ट्राफिक व्यवस्थापनमा सहयोगको अपेक्षा गर्दै सर्वसाधारणलाई म्याराथन रुटमा उपस्थित भई धावकहरूलाई उत्साहवर्धन गर्न अनुरोध गरेको छ । साथै, म्याराथनको दिन बिहान सवारी साधनहरू उक्त रुटमा नचलाइदिन पनि आग्रह गरिएको छ ।
