एनओसी अध्यक्ष श्रेष्ठले गरे एशियन यूथ गेम्स नेपाली टोलीको बिदाइ

पोखरा स्पोर्ट्स । नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जिवन राम श्रेष्ठले तेश्रो एशियन यूथ गेम्समा सहभागी हुन जाने नेपाली युवा खेलाडी तथा प्रशिक्षकहरूको टोलीलाई बिदाइ गरेका छन् । तेश्रो एसियाली युथ गेम्स बहराइनमा यहि कात्तिक ५ देखि १४ गतेसम्म हुनेछ ।

बिदाइ समारोहमा अध्यक्ष श्रेष्ठले खेलाडीहरूलाई शुभकामना दिँदै आगामी एशियन गेम्स र ओलम्पिकमा नेपालको गौरव बढाउन पनि यो सहभागिता महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

टोलीका चिफ दि मिसनमा एनओसीका कोषाध्यक्ष टासी घले रहेका छन् भने मुख्य अधिकृतमा इन्द्र मल्ल रहेका छन् ।

प्रतियोगितामा ब्याडमिन्टनतर्फ सविना श्रेष्ठ, गल्फमा रुवेन थापा, जुडोमा समिता नेपाली, मुवाँथाईमा पलेस्था कक्षपति र गेन्जी राई तथा पौडीमा अथर्व सिंह र आर्या महर्जन र ई–स्पोर्ट्समा काव्यराज आचार्यले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

अफिसियलमा तिलक पाण्डे–ब्याडमिन्टन, ध्रुवबाबु थापा–गल्फ, देवकीमाया श्रेष्ठ–जुडो, भूपेश शाक्य–मुवाँथाई,नयना शाक्य–पौडी तथा इस्पोर्टसतर्फ प्रशिक्षकमा अरुण मिश्र र टिम अफिसियलमा सिलु श्रेष्ठ रहेका छन् ।

बिदाइ कार्यक्रममा उपाध्यक्षहरू ज्योति राणा, चतुरानन्द राजवैद्य, गोपाल सुन्दर लाल काक्षपती, महासचिव राजीव श्रेष्ठ, सचिवहरू रामकृष्ण श्रेष्ठ, रमेश शिवाकोटी र मानार्थ उपाध्यक्ष दीपक हर्ष बज्राचार्यको पनि उपस्थिति रहेको एनओसीले जनाएको छ ।

एनओसीले युवा खेलाडीहरूको सहभागिताले महादेशीय स्तरमा नेपालको विविध खेलमा बढ्दो उपस्थितिको प्रतिविम्ब भएको जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close