
पोखरा स्पोर्ट्स । नेपाल बक्सिङ महासंघको विशेष साधारण सभा ललितपुरमा सम्पन्न भएको छ । वर्ल्ड बक्सिङको सदस्यता प्राप्तिका लागि विधान संशोधन मुख्य एजेन्डामा सो विशेष साधारण सभा भएको नेपाल बक्सिङ संघले जनाएको हो ।
सो साधारण सभाको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रमको उद्घाटन गर्दै सदस्य–सचिव घिसिङले आफ्नो कार्यकालमा नजिकबाट बक्सिङ खेललाई बुझ्ने अवसर पाएको उल्लेख गर्दै बक्सिङको गौरवशाली इतिहासलाई अझ योजनाबद्ध रूपमा अगाडि बढाउँदै ठूलो सफलता हासिल गर्नुपर्ने बताए ।
महासंघका महासचिव मान बहादुर भण्डारीले पछिल्ला दुई वर्षमा महासंघले सञ्चालन गरेका गतिविधि र आगामी योजनाबारे कार्यपत्र प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष गौतम सुजखुले पछिल्ला २४ महिनाको आर्थिक प्रतिवेदन पेश गरे ।
कार्यक्रमको अन्त्यमा महासंघका अध्यक्ष राम अवालेले छोटो समयको सूचनामा सबै उपस्थित भई बक्सिङ खेलको विकासका लागि एकता देखाएकोमा सबै सहभागीप्रति धन्यवाद ज्ञापन ब्यक्त गरे । साधारण सभामा सबै जिल्लाका १२४ जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा विशेष अतिथिहरूमा पूर्व अध्यक्षहरू विष्णु गोपाल श्रेष्ठ, उमेश मास्के, रवि राज थापा, खेलकुद परिषद्का प्रशिक्षण तथा कोचिङ विभाग निर्देशक विष्णु बहादुर सिंह, राष्ट्रिय टोली तयारी विभाग निर्देशक दीपक बिष्ट, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, पूर्व प्रमुख प्रशिक्षक प्रचण्ड शर्मा, प्रमुख प्रशिक्षक प्रकाश थापा मगर र बक्सिङ ओलम्पियन मान बहादुर श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।
