पोखरा रंगशाला महानगरअन्तर्गत नहुँदा विकासमा समस्या : मेयर आचार्य

पोखरा स्पोर्ट्स । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरा रंगशाला महानगरको अधिकार क्षेत्रभित्र नपरेका कारण यसको समग्र विकासमा समस्या उत्पन्न भएको बताएका छन् ।

प्रादेशिक क्रिकेट संघ गण्डकीको चौथो साधारण सभामा बोल्दै मेयर आचार्यले लामो समयदेखि महानगरले रंगशालालाई आफ्नो मातहतमा ल्याउन प्रयास गरे पनि अझै सम्भव नभएको बताए । उनले भने, “पूर्वाधारका केही समस्या छन् । पोखरा रंगशालास्थित क्रिकेट मैदानका लागि महानगरले बजेट छुट्याउन तयार छ, तर मैदान महानगरको अधिकार बाहिर भएकाले काम अघि बढाउन नसकिएको हो।”

सन् २०२७ मा नेपालमा आयोजना हुने यू–१९ महिला विश्वकप क्रिकेटका लागि पोखरामा आवश्यक पूर्वाधार निर्माणमा सहजीकरण गर्न महानगर तयार रहेको उनले स्पष्ट पारे । “हामी आईसीसी, एसीसी र क्यानका पदाधिकारीहरूसँग विश्वकपका तयारीबारे छलफल गरिसकेका छौं । महानगर सकारात्मक छ, तर अधिकार नहुँदा चाहेर पनि काम गर्न सकिरहेका छैनौं । यदि स्थानिय तहलाई जिम्मेवारी दिइयो भने व्यवस्थापन हामी नै गर्न सक्छौं,” उनले जोड दिए ।

साधारण सभाको अवसरमा मेयर आचार्यले गण्डकी प्रदेशका उत्कृष्ट खेलाडीहरूलाई सम्मान गरे ।

संघका अध्यक्ष संजयकान्त सिग्देलका अनुसार विभिन्न उमेर समूहबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएका चार महिला र तीन पुरुष खेलाडीलाई नगदसहित प्रोत्साहन प्रदान गरिएको हो । सम्मानित खेलाडीहरूमा महिलातर्फ कुसुम गोदार, सिमना केसी, ज्योस्त्निका मरासिनी र रचना चौधरी तथा पुरुषतर्फ सोहेल कुँवर, सिब्रिन श्रेष्ठ र अपराजित पौडेल रहेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंहले पर्याप्त पूर्वाधार नहुँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न कठिनाइ भएको बताए । उनले सुरक्षा चुनौतीसहित पूर्वाधारमा ध्यान दिन आग्रह गर्दै जिल्ला र प्रदेश संघ सबल भए मात्र केन्द्रीय संघ बलियो बन्ने धारणा व्यक्त गरे ।

संघका केन्द्रीय सदस्य सुदिप शर्माले सन् २०२७ को महिला यू–१९ विश्वकप आयोजना गर्न पोखराको विकल्प नभएको उल्लेख गर्दै अभियानकै रूपमा अघि बढ्नुपर्ने बताए । उनले अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता आयोजनाका लागि पोखरामा पूर्वाधार निर्माण अत्यावश्यक रहेको र त्यसका लागि स्थानीय तहले पनि लगानी गर्नुपर्नेमा जोड दिए ।

प्रदेश खेलकुद परिषद गण्डकीका बोर्ड सदस्य विनय थापाले प्रदेश सरकारले विनियोजन गर्ने बजेट व्यवहारिक नभएको बताउँदै परिणाममुखी खेललाई प्राथमिकता दिनुपर्ने र सबै खेलसंघलाई समान ढङ्गले हेर्न नहुने टिप्पणी गरे ।

साधारण सभामा कास्की, तनहुँ, पर्वत, बाग्लुङ, स्याङजा र नवलपुरका प्रतिनिधिहरू सहभागी थिए । अध्यक्ष संजयकान्त सिग्देलको अध्यक्षतामा सम्पन्न सभामा हालै सम्पन्न महिला क्रिकेट प्रतियोगितामा सहभागी कास्की, पर्वत, स्याङजा र नवलपुरका खेलाडीहरूलाई १६ थान रबर स्पाइक क्रिकेट जुत्ता हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङ लगायतले क्रिकेटको वर्तमान अवस्था र सुधारका विषयमा आफ्ना धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close