
पोखरा स्पोर्ट्स । नेपाल तेक्वान्दो संघको पाँचौँ केन्द्रीय अधिवेशनले दिपराज गुरूङको काँधमा अध्यक्षको जिम्मेवारी सुम्पिएको छ ।
शनिबार चितवनको सौराहामा सम्पन्न भएको अधिवेशनले उनीसहित १९ सदस्यिय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । यस अघि गुरूङ संस्थाको महासचिव रहेका थिए ।
यसै गरी संघको उपाध्यक्षहरूमा भानबहादुर चन्द, नन्दकुमार राई र दिलबहादुर ओली निर्वाचित भएका छन् भने कोषाध्यक्ष कासिम मिया निर्वाचित भए ।
निर्वाचन लगतै सम्पन्न कार्यसमितिको बैठकले हेमन्त डाँगीलाई महासचिवमा मनोनयन गरेको छ ।
त्यसैगरी सदस्यहरूमा टिका प्रसाद लिम्बु, रवि थापा, मदन केसी, कोशिश खड्का, श्रीमान थापा मगर, नन्दा बस्याल, गुरु प्रसाद गौतम, सुमन पराजुली, रामचन्द्र श्रेष्ठ, कुमार लामा घिसिङ, विजय कुमार न्यौपाने, बब्लु शिवाकोटी र प्रेम बहादुर भण्डारी चयन भएका छन् ।
यसअघि २०७८ साल असोज १६ गते भैरहवामा सम्पन्न अधिवेशनमार्फत प्रकाश शम्शेर राणाको अध्यक्षतामा कार्यसमिति निर्वाचित भएको थियो ।
सम्पन्न अधिवेशनमा ७ वटै प्रदेश, ५८ वटै जिल्ला तेक्वान्दो संघ तथा २३ जना केन्द्रीय प्रतिनिधिको उपस्थिति रहेको थियो ।
राष्ट्रिय खेलकुद परिषद्को तर्फबाट खेलकुद विकास विभागका प्रमुख सरोज पोखरेलको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो । समितिले आजै नव–निर्वाचित पदाधिकारी तथा सदस्यलाई पद तथा गोपनियताको शपथ गराएको छ ।
उद्घाटन सत्रमा निवर्तमान पदाधिकारीसँगै तेक्वान्दो खेलमा सहयोग पुर्याउने व्यक्तित्वहरूलाई प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो ।
यस अघि सम्पन्न अधिवेशनको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य जगत बहादुर धामीले गरेका थिए ।
