
पोखरा स्पोर्ट्स । सहारा क्लब पोखराको १४ औं अधिबेशन स्थागित भएको छ । नयाँ नेतृत्व चयनका लागि शुक्रबार बिहानबाट सुरू भएको अधिवेशन अध्यक्षलगायत अन्य पदमा सर्वसम्मत नहुँदा स्थागित हुन पुगेको हो ।
सहारा क्लबको अधिवेशनमा हालका वरिष्ठ उपाध्यक्ष पूर्ण बहादुर गुरूङ र पूर्व अध्यक्ष केशव बहादुर थापाले अध्यक्षमा उम्मेदवारी दिने बताइएको छ । यस अघि दुई कार्यकाल अध्यक्ष भइसकेका थापाले सामाजिक सञ्जालमार्फत आफ्नो दावेदारी प्रस्तुत गर्दा बरिष्ठ उपाध्यक्ष गुरूङले क्लबले आफ्नो विगतको इतिहास दोर्हाउनुपर्ने भन्दै आफ्नो दावेदारी गरेका छन् ।
सहारा क्लब पोखराको नेतृत्व चयनमा रस्साकस्सी हुँदा पहिलो पटक स्थगित हुन पुगेको हो ।
यस अघि सहारा एकेडेमी दोविल्लामा सुरू भएको क्लबको २७औं साधारण सभा तथा अधिवेशनको हिमश्री फुड्सका प्रवन्ध निर्देशक प्रकाश केसीले उद्घाट्न गरेका थिए । सो अवसरमा उनले सहारा खेलकुद पत्रकारित पुरस्कारबाट केशव पाठकलाई सम्मान गरेका थिए । सोही कार्यक्रममा जुनियर सदस्य नेहा गुरूङलाई समेत उनले सम्मान गरेका थिए ।
सहारा क्लबका अध्यक्ष केशवराज बरालको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगर पालिका वडा नं ९ का अध्यक्ष दिपेन्द्र मर्सानी, नेपाल ओलम्पिक कमिटिका पूर्व उपाध्यक्ष तेज बहादुर गुरूङ, क्लबका संस्थापक अध्यक्ष बसन्त थकाली, जिल्ला खेलकुद समितिका अध्यक्ष मिलन गुरूङ, अग्रज पत्रकार नारायण कार्की, क्लबका महासचिव रामजी प्रसाद अधिकारी, बरिष्ठ उपाध्यक्ष पूर्ण बहादुर गुरूङलगायतले आफ्ना भनाई राखेका थिए ।
