नेपाली चार खेलाडीले स्पेनमा हुने विश्व माउन्टेन र ट्रेल रन च्याम्पियनसिप खेल्ने

पोखरा स्पोर्ट्स । नेपालका चार खेलाडीले स्पेनमा हुने तेस्रो संस्करणको विश्व माउन्टेन र ट्रेल रन च्याम्पियनसिप खेल्ने भएका छन् ।

विश्व एथलेटिक्सले आयोजना गर्न लागेको प्रतियोगितामा नेपालबाट सुमन कुलुङ, साङ्गे शेर्पा, मनकुमार रोका र सुनमाया बुढाले चुनौती पेश गर्ने भएका हुन् । स्पेनको क्यान फ्रान्कमा हुने प्रतियोगिता सेप्टेम्बर २४ देखि २९ तारिकसम्म सञ्चालन हुदैछ ।

भिषाका कारण पुरा टिम सहभागी हुन नपाएपनि नेपालबाट सबैभन्दा माथिल्लो वरियताका ट्रेल रनरले विश्व स्तरीय प्रतियोगितामा देशको प्रतिनिधित्व गर्न लागेका हुन् । नेपाल नम्बर वान सुमन कुलुङ एसिया वरियताका समेत एक नम्बरका खेलाडी हुन् भने महिलातर्फ नेपाल नम्बर एक खेलाडी सुनमाया बुढा एसिया वरियताकी तेस्रो नम्बरकी खेलाडी हुन् । चारै जना खेलाडीले सिंगल लामो दुरीको ट्रेल रनको ईभेन्टमा प्रतिस्पर्धा गर्नेछन् ।

टिम म्यानेजर प्रिती खत्रीले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार खेलाडी छनोट गरिएको बताइन् । ‘मुख्य मापदण्डको रुपमा आईटीआरए बरियातालाई प्राथमिकता दिइएको छ । छनोट प्रक्रिया जर्मनी सहित अन्य सहभागी देशहरुसँग मेल खान्छ । जहाँ पुरुष खेलाडीका लागि योग्यता हासिल गर्न ८६० भन्दा बढी आईटीआरए स्कोर आवश्यक थियो । जसमा शीर्ष तीन पुरुष र महिला खेलाडी छनोट भएका हुन् ।’ खत्रीले भनिन्, ‘हाम्रा खेलाडीले असाधारण प्रदर्शन र विश्वस्तरीय बरियताका आधारमा आफ्नो स्थान सुरक्षित गरेका हुन् ।’

महासंघका अध्यक्ष एकेन्द्र कुँवरले नेपाली खेलाडीले विश्व स्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्नु सबै नेपालीका लागि गर्वको विषय रहेको बताए । ‘फरक खेल विधाको रुपमा एडभेन्चर रनिङबाट नेपाली खेलाडीहरुले पुन विश्व मञ्चमा देशको प्रतिनिधित्व गर्दै आफ्नो चुनौती पेश गर्दैछन् ।’ अध्यक्ष कुँवरले भने, ‘नेपाल एडभेन्चर रनिङ फेडेरेसनले नेपाली खेलाडीको विश्वस्तरीय प्रर्दशनलाई सहयोग गर्न आवश्यक पूर्वाधार निर्माण गर्दै अन्तराष्ट्रिय पहुँच सुधार गर्न निरन्तर काम गरिरहेको छ ।’

One Comment

  1. महत्वपूर्ण कुरा के हो भने, लेखले एक अत्यन्तै आवश्यक पक्षलाई नजरअन्दाज गरेको छ: नेपाली खेलाडीहरूलाई यस कार्यक्रममा सहभागी हुनको लागि ५ लाख ५० हजार रुपैयाँ तिर्नुपर्ने भनिएको थियो। झन् अचम्मको कुरा त के भने, यो रकम केवल खेलाडीहरूको सहभागिता खर्च मात्र होइन, नेपाल एडभेन्चर फेडेरेसनका अधिकारीहरूको यात्रा र बसोबास खर्च समेत यसै रकमबाट गरिनेछ, उनीहरू खेलाडीको पैसामा निःशुल्क कार्यक्रममा जान लागेका छन्।

    यसबाहेक, कसैले पनि यदि उसले ५ लाख ५० हजार रुपैयाँ तिर्न सक्छ भने कार्यक्रममा सहभागी हुन सक्छ। यसको अर्थ, छनोट प्रक्रिया प्रतिभा वा योग्यतामा आधारित नभएर पैसामा आधारित छ।

    लेखमा भनिएजस्तो भीसा समस्या छैन, ITRA पोइन्टको पनि कुनै महत्व छैन। ती सबै कुरा त केवल आफूहरूलाई नराम्रो नदेखाउन बनाइएका बहाना मात्र हुन्। जसले ५ लाख ५० हजार तिरे, उनीहरू छानिए, र जसले तिर्न सकेनन्, उनीहरू छानिएनन् — कुरा यत्ति सरल हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close