
पोखरा स्पोर्ट्स । नेपाल ओलम्पिक कमिटि (एनओसीमा)मा ‘खेलकुद र स्वास्थ्य’ परियोजना बारे समिक्षात्मक बैठक सम्पन्न भएको छ ।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को संयुक्त पहलमा सुरु गरिएको सो परियोजनाको प्रगति समीक्षा गरिएको एनओसीले जनाएको छ ।
आइओसी र डब्ल्यूएनओको आर्थिक सहयोग रहेको पाइलट प्रोजेक्टको रुपमा सुरू गरिएको पहिलो चरणमा नेपालले उत्कृष्ट कार्य गर्दै परियोजना सफलता पूर्वक सम्पन्न गरेको एनओसीले जनाएको हो ।
परियोजनामा डब्लुएचओले एनओसीसँग मिलेर समन्वयको भूमिका निर्वाह गरिरहेको छ भने, पाथ र हेल्थ कन्सर्न कार्यान्वयन संस्था रूपमा चयन भएका छन् ।
परियोजनाको पहिलो चरणमा पाइलट प्रोजेक्टका रुपमा विश्वका पाँच मुलुक नेपाल, भियतनाम, पेरु, टान्जानिया र घाना चयन भएका थिए । नेपालमा बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले चार जिल्ला चितवन, ललितपुर, मकवानपुर र नुवाकोटमा कार्यक्रम सञ्चालन गरिरहेको छ ।
सो कार्यक्रमको मुख्य उद्देश्य सरकारी तथा सामुदायिक विद्यालयहरूमा खेलकुदमार्फत स्वास्थ्य प्रवर्द्धन गर्नु रहेको छ । जहाँ स्वास्थ्यकर्मी (नर्सिङ स्टाफ)को उपस्थिति अनिवार्य गरिएको छ ।
पहिलो चरणको सफल कार्यान्वयनका आधारमा दोस्रो चरणका लागि केवल नेपाल र भियतनामलाई अगाडि बढाइएको छ । यसले नेपालको प्रगति र प्रभावकारी कार्यान्वयनलाई पुष्टि गरेको एनओसीले जनाएको छ । आगामी डिसेम्बर दोस्रो सातामा परियोजनाको अनुगमन तथा मूल्याङ्कन गर्न आइओसीको उच्चस्तरीय टोली नेपाल आउने कार्यक्रम तय भएको छ ।
एनओसीका अध्यक्ष तथा पूर्वमन्त्री जीवनराम श्रेष्ठको अध्यक्षतामा सम्पन्न समिक्षात्मक बैठकमा एनओसीका उपाध्यक्ष चतुरानन्द राजवैद्य, महासचिव राजीव श्रेष्ठ, साथै पाथ र हेल्थ कन्सर्नका प्रतिनिधिहरू सञ्जु गौतम र कृष्णप्रसाद ढकाल सहभागी थिए ।
