‘हिमाल’लाई जिताउन प्रदेश भलिबल संघले थाल्यो अभियान

पोखरा स्पोर्ट्स । नेपाली खेलकुद पत्रकारहरुको साझा संस्था नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को आयोजनामा हुने ‘२२ औं पल्सर स्पोर्ट्स अवार्ड’मा गण्डकी भलिबल टिमका सदस्य हिमाल सुनारीलाई जिताउन गण्डकी प्रदेश भलिबल संघले अभियान सुरू गरेको छ ।

राजधानी बाहिर पहिलो पटक यहि भदौ २९ गते पोखरामा आयोजना हुने स्पोर्ट्स अवार्डको पिपल्स च्वाइसतर्फ हिमाल मनोनयनमा परेका छन् । सो बारे कुरा गर्दै संघका कार्यबहाक अध्यक्ष राजेन्द्र जिसीले भने–“हाम्रो प्रदेशको टिमको महत्वपूर्ण सदस्य रहेका हिमाललाई जिताउन हामीले अभियान सुरू गरेका छौं । सबैको साथ र सहयोग पाउनेमा गण्डकी प्रदेश भलिबल संघ विश्वस्त छ ।”

संघले आफ्नो मातहतमा रहेका ११ वटै जिल्ला भलिबल संघहरुलाई पत्राचार गर्दै सबैलाई हिमाललाई जिताउन अपिल गरिएको जिसीले बताए । पोखरा स्पोर्ट्स संग कुरा गर्दै उनले सबै जिल्लाहरुलाई गण्डकी प्रदेश भलिबल संघको बैंक खातामा रकम जम्मा गर्न अपिल गरिएको बताउँदै जम्मा भएको रकम एक कार्यक्रमका बीच हिमाललाई हस्तान्तरण गरिने बताए । “जो जसले सहयोग गर्नुहुन्छ । त्यो गण्डकी प्रदेश भलिबल संघमार्फत होस भन्ने चाहन्छौं । हामी जम्मा भएको रकम सार्वजनिक गर्दै हिमाललाई एकमुष्ट हस्तान्तरण गर्नेछौं ।”

हिमाललाई जिताउन पोखरालगायत जिल्लाका सदरमुकामहरुमा व्यानर र पोष्टर टास्न समेत आग्रह गरिएको संघका कोषाध्यक्ष टुक बहादुर गुरूङले बताए । “पोखराका विभिन्न स्थानमा हामीले हिमाल जिताउने अपिलका साथ व्यानर पोष्टर टासेका छौं,” उनले भने, “यो अपिल गण्डकी प्रदेशका जिल्ला र भलिबल प्रेमीहरुलाई मात्रै होइन । नेपाली आम भलिबल प्रेमीहरु, स्वदेश तथा विदेशमा रहेका संघ–संस्था एवं महानुभावहरुलाई सहयोगका लागि पोखरा स्पोर्ट्समार्फत आग्रह गर्दछौं ।”

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत पिपल्स च्वाइसमा भलिबलका हिमालसहित उसुका विजय सिन्जाली, टेबलटेनिसकी इभाना थापा, क्रिकेटकी पूजा महतो र फुटबलकी रेखा पौडेल परेका छन् ।

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष उत्कृष्ट युवा खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, टिम अफ दी एयर, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोटर्स जर्नालिस्ट अवार्ड गरी १० विधा समावेश गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close