
पोखरा स्पोर्ट्स । पूर्वमन्त्री तथा नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले टेनिसकी महिका राणा र बास्केटबल खेलाडी विजय बुर्जालाई बिदाई गरेका छन् ।
काजाखस्तानको अष्टानामा एसियाली ओलम्पिक परिषद्को आयोजनामा आगामी सेप्टेम्बर १ देखि ३ तारिखसम्म सञ्चालन हुने छैटौं एथ्लेट्स फोरममा उनीहरु सहभागी हुनेछन् ।
सो अवसरमा अध्यक्ष श्रेष्ठले दुवै खेलाडीलाई शुभकामना दिँदै अन्तर्राष्ट्रिय स्तरका यस्ता कार्यक्रमहरूबाट शिक्षा लिई नेपाल फर्केपछि आआफ्नो अनुभव बाँड्न आग्रह गरे । उनले यस्ता अवसरहरूले आगामी पुस्ताका खेलाडीहरूलाई पनि लाभ पुग्ने विश्वास व्यक्त गरे ।
उक्त कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका महासचिव राजीव श्रेष्ठ तथा एनओसीका सचिव एवं नेपाल बास्केटबल संघका अध्यक्ष भीम सिंह गुरुङको पनि उपस्थिति रहेको थियो ।
खेलाडी मञ्चले एशियाका खेलाडीहरूलाई नेतृत्व, शिक्षा र ओलम्पिक आन्दोलनमा सक्रिय सहभागिताका लागि सशक्त बनाउन उद्देश्य लिएको छ ।
