पोखरामा आधारभूत भलिबल प्रशिक्षक प्रशिक्षण सुरू

खेलकुदको बजेट बढाउन अब प्रश्न गर्ने बेला आएको छ–सदस्य सचिब शर्मा

पोखरा स्पोर्ट्स । गण्डकी प्रदेश भलिबल संघको आयोजनामा साताव्यापी आधारभूत भलिबल प्रशिक्षक प्रशिक्षण सुरू भएको छ ।

पृथ्वीनारायण क्याम्पसको सभाकक्षमा आयोजित सो कार्यक्रमको प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब श्रीधर शर्माले उद्घाटन गरेका छन् । सो अवसरमा बोल्दै सदस्य सचिब शर्माले खेलकुदको बजेट न्यून हुँदा कार्यन्वयनमा समस्या आएको बताएका छन् । उनले भने–“जव निर्वाचन आउँछ हरेक दलका नेताहरु गाउँ गाउँमा  खेल सामाग्री बाँड्दै हिँडनुहुन्छ । जितेर सांसद, मन्त्री, कोही मेयर त कोही उपमेयर पनि बन्नुहुन्छ । तर जब बजेट निर्माण गर्ने बेला आउँछ उहाँहरुले सबैकुरा विर्सनु हुन्छ ।”

हरेक वर्ष वार्षिक विनियोजित बजेट केन्द्र र प्रदेश सरकारको वजेटमा खेलकुदको बजेट घट्दै जानु चिन्ताको विषय बनेको बताउँदै अब सबै खेलकुदकर्मीहरुले अब राजनितिक दल र नेताहरुलाई खेलकुदको बजेट किन कम भयो ? भन्दै प्रश्न गर्नु पर्ने बताउँदै सदस्य सचिब शर्माले भने, “चिया गफमा होस वा जुन सुकै बेला जहाँ भेट्नुहुन्छ अनुशासित र मर्यादापूर्वक उहाँहरुलाई सोध्नुहोस खेलकुदको बजेट किन कम ?” उनले कुल बजेटको कम्तिमा तीन प्रतिशत खेलकुदका लागि बजेट विनियोजना हुनुपर्ने कुरामा समेत जोड दिए ।

विद्यायल र कलेजहरुले समेत खेलकुदको नाउँमा अतिरिक्त शुल्क उठाउने गरे पनि त्यसको सहि सदुपयोग सबै विद्यालयहरुले नगरेको बताउँदै उनले अब त्यसको समेत परिषदले खोजी गर्ने बताए । “चाहे पालिकाहरु हुन् वा विद्यालय र कलेज कहाँ कति रकम खेलकुदको नाउँमा लिइएको छ । छुट्टाइएको छ । त्यसको हामी खोजी गर्छौं । त्यो रकम खेलकुदमा नै लगानी हुनु पर्छ तव मात्र खेलकुद विकासले फड्को मार्छ,” उनले भने, “पालिकाहरुले पनि आफ्नो कुल बजेटमा न्यून बजेट विनियोजन गरेका छन् । जसले बजेटमा चासो दिनु पर्ने हो । त्यो हुन सकेन ।”

प्रदेश भलिबल संघले एक उत्कृष्ट कार्यको सुरूवात गरेकोमा प्रशंसा गर्दै सदस्य सचिब शर्माले गण्डकीबाट उत्पादित यूवा प्रशिक्षकहरुले खेलाडी उत्पादनमा आफ्ले सिकेको शिप लगाउन आग्रह गरे ।

कार्यक्रममा बोल्दै नेपाल भलिबल संघका केन्द्रिय सल्लाहकार एवं पूर्व अन्तर्राष्ट्रिय भलिबल खेलाडी हरिप्रसाद पराजुली प्रदेश खेलकुदपरिषद र गण्डकी भलिबल संघले प्रशिक्षण कार्यक्रम गर्नु सर्हानिय कार्य रहेको बताउँदै उत्पादित प्रशिक्षकहरुले आफ्ने शिपलाई तिर्खादै प्रशिक्षणलाई समयानुकुल र अनुशासित रुपमा अघि बढाउन आग्रह गरे ।

सोही अवसरमा बोल्दै राष्ट्रिय खेलकुद परिषद्, तालिम तथा प्रशिक्षण विभागमा कार्यरत भलिबलका मुख्य प्रशिक्षक जगदीश प्रसाद भट्टले प्रशिक्षक प्रशिक्षण कार्यक्रम केवल प्रशिक्षणका लागि मात्रै नभई राष्ट्रिय गौरव बढाउने खेलाडी उत्पादनको सेतु समेत बन्नेमा विश्वस्त रहेको बताए । उनले भने–“अहिले भलिबलमा आकर्षण बढेको छ । विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय संगै फ्रेन्चाइज लिगहरु आयोजना भएका छन् । अब प्रतियोगिता मात्रै होइन । उत्कृष्ट खेलाडी उत्पादनका लागि समेत सबैको ध्यान जानु आवश्यक छ ।

गण्डकी प्रदेश भलिबल संघका कार्यबहाक अध्यक्ष राजेन्द्र जिशीको अध्यक्षतामा भएको कार्यक्रममा पृथ्वी नारायण क्याम्पस स्ववियु सभापति विष्णु पोखरेल, कार्यक्रमका संयोजक चन्द्र बहादुर गुरूङ ‘जापान’, संघका कोषाध्यक्ष टुक बहादुर गुरूङलगायतले आफ्ना भनाई राखेका थिए ।

यहि भदौ १९ गतेसम्म सञ्चालन हुने प्रशिक्षणमा ४० जना प्रशिक्षार्थी गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट सहभागी रहेका छन् । उनीहरुलाई विभिन्न विषयमा प्रशिक्षण दिने तयारी रहेको भलिबल गण्डकी संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close