
पोखरा स्पोर्ट्स । गण्डकी विश्वविद्यालयमा स्नातक तहको खेलकुद व्यवस्थापन (बिएसएम) कार्यक्रमप्रति विद्यार्थीको आकर्षण तीव्र रूपमा बढ्दो छ । नेपालमै पहिलोपटक सुरु गरिएको यो कार्यक्रमले देशमा दक्ष खेलकुद जनशक्ति उत्पादन गर्ने दिशामा नयाँ युगको सुरुवात गरेसंगै विद्यार्थीहरुले आफ्नो अध्ययनको गन्तब्य गण्डकी विश्वविद्यालय हुने गरेको हो ।
चार वर्षअघि स्थापना भएको गण्डकी विश्वविद्यालयले विभिन्न शैक्षिक कार्यक्रमहरूमध्ये खेलकुद शिक्षालाई प्राथमिकताका साथ अघि सारेको छ । आधुनिक शिक्षामा आधारित यो कार्यक्रमले खेलकुद क्षेत्रका अवसरलाई समेट्दै व्यावसायिक सम्भावनाको ढोका खोलेको छ। यही कारणले स्नातक तहमा अध्ययन गर्न चाहने विद्यार्थीको आकर्षण बढ्दो छ ।
“१२ कक्षा उर्तिण विद्यार्थीहरूका लागि यो एक सुनौलो अवसर हो,” विश्वविद्यालयका रजिष्ट्रार डा. कैलाश तिमल्सिनाले भने, “खेलकुद व्यवस्थापन विषय केवल खेलाडीका लागि मात्र होइन, सबैका लागि उपयुक्त छ । बिएसएम विषय केवल खेलाडीहरुले पढ्ने हो भन्ने गलत बुझाई रह्यो । त्यसो होइन । सोही अनुसार कोर्ष तयार पारिएको छ । जो कोहीले यो विषय लिएर अध्ययन गर्न सक्छन्, र भविष्यमा स्नातकोत्तर तहमा एमबीए समेत गर्न सक्ने गर्न सक्ने गरी कोर्ष डिजाइन गरेका छौं ।”
उनका अनुसार, नेपाली खेलकुद अझै परम्परागत ढाँचामा अघि बढिरहेकाले व्यवस्थापन र सञ्चालनको दृष्टिले दक्ष जनशक्ति उत्पादन अत्यावश्यक भएको छ। आधुनिक खेलकुदको आधार तयार गर्न शिक्षामार्फत समृद्धिको बाटो खोल्ने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको हो ।
चार वर्षे पाठ्यक्रममा अन्तर्राष्ट्रिय स्तरका स्टेडियम, तालिम केन्द्र र खेल एकेडेमीहरूको निर्माण र व्यवस्थापनसम्बन्धी विषयहरू समावेश छन्, जुन अहिले नेपाली खेलकुदमा अभाव रहेको क्षेत्र हो । यसले विद्यार्थीहरूलाई व्यवहारिक र सैद्धान्तिक दुवै पक्षमा दक्ष बनाउने लक्ष्य राखेको छ ।
खेलकुद व्यवस्थापनको माग अहिले विश्वबजारमै बढ्दो रहेको विश्वविद्यालयका खेलकुद विषयका प्राध्यापक सोनाम लामाले बताए । नेपालमा समेत विभिन्न फ्रेन्चाइज लिग र ठूला प्रतियोगिताहरूको आयोजना बढ्दै गएकाले दक्ष र प्रशिक्षित जनशक्तिको माग उच्च रहेको छ । “यो वास्तवमै एउटा अवसर हो,” उनले भने, “अब उत्पादित जनशक्तिले विद्यालय स्तरदेखि लिएर ठूला अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा आफ्नो दक्षता देखाउने अवसर पाउनेछन् ।”
गण्डकी विश्वविद्यालयमा नेपाली महिला राष्ट्रिय टिमकी कप्तान अरुणा शाही, भलिबलका प्रशिक्षक द्वय लेखनाथ लम्साल र मलिन रोक्का तथा उशुका प्रशिक्षक भगिरथ कँडेललगायत ११ जनाले आफ्नो चार वर्षे कोर्ष हालै सम्पन्न गरेका छन् भने हाल खेलकुद विषयमा ४५ वजा विद्यार्थीहरु विभिन्न सेमेष्टरमा अध्ययनरत रहेको प्राध्यापक लामाले जानकारी दिए ।
यसरी, गण्डकी विश्वविद्यालयमा सुरु गरिएको खेलकुद व्यवस्थापन कार्यक्रमले नेपाली खेलकुदको भविष्य निर्माणमा मात्र होइन, युवा पुस्ताको करियर मार्ग निर्धारणमा पनि नयाँ सम्भावना ल्याएको छ ।
