
पोखरा स्पोर्ट्स । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को आयोजनामा सञ्चालन हुने २२औं पल्सर स्पोर्ट्स अवार्ड २०८१ को पिपल्स च्वाइसमा मनोनयन भएका भलिबलका लोकप्रिय खेलाडी हिमाल सुनारीलाई जिताउन टाइगर ग्रुप अफ पोखरा नेपालले आर्थिक सहयोगसँगै अभियान सञ्चालन गर्ने भएको छ ।
टाइगर कप भलिबलको आयोजक समेत रहेको टाइगर ग्रुपले हिमाललाई लोकप्रिय मतका साथ जिताउन उनलाई नगद १५ हजार सहयोग गरेको हो । सो रकम संस्थाका अध्यक्ष एनं केन्द्रिय भलिबल संघका सल्लाहकार नारायण प्रसाद शर्मासहितको टोलीले हिमालाई जितको शुभकामनासहित हस्तान्तरण गरेको हो ।
सो बारे जानकारी दिंदै टाइगर ग्रुपका सचिब डि.बी नेपालीले हिमाललाई जिताउन नगद सहयोग गरेको र सबै जिल्ला भलिबल संघ एवं भलिबल प्रेमीहरुलाई नगद सहयोगसंगै भोट हालेर जिताउनका लागि अपिल समेत गरिएको पोखरा स्पोर्ट्सलाई जानकारी दिए । “हामीले हिमाललाई जिताउन सबै जिल्ला भलिबल संघ, प्रदेश भलिबल संघहरु र आम खेलप्रेमीहरुलाई अपिल गरेका छौं”, सचिब नेपालीले भने–“यो अवार्डमा भलिबलका एक कर्मठ एवं अनुशासित खेलाडीको रुपमा परिचित हिमालले जित्नेमा हामी विश्वस्त छौं ।”
पटक–पटक विभागिय टिमहरुले हिमाललाई विभागिय टिममा समावेशका लागि बोलाए पनि आफू गण्डकी प्रदेशकै टिमबाट खेल्ने उच्च लक्ष्य लिएका कारणले पनि हिमाल लोकप्रिय खेलाडीको रुपमा दर्ज रहेको सचिब नेपालीको भनाई छ । “भलिबल खेल मैदानमा उनको उत्कृष्ट खेल प्रदर्शन देखेर पटक–पटक विभागिय टिमहरुले पनि अवसर दिए । तर उनी कहिं कतै गएनन् । गण्डकी टिमको एक सदस्यको रुपमा रहे । उनको यो महानता हो”, उनले भने ।
यस्तै गरी हिमाललाई जिताउने अभियानका लागि चार जिल्ला बीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता पोखरामा आयोजना हुने छ । सो मैत्रीपूर्ण प्रतियोगिता सञ्चालनको जिम्मेवारी गण्डकी प्रदेश भलिबल संघलाई दिइएको सचिब नेपालीले जानकारी दिए ।
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत पिपल्स च्वाइसमा भलिबलका हिमालसहित उसुका विजय सिन्जाली, टेबलटेनिसकी इभाना थापा, क्रिकेटकी पूजा महतो र फुटबलकी रेखा पौडेल परेका छन् ।
एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष उत्कृष्ट युवा खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, टिम अफ दी एयर, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोटर्स जर्नालिस्ट अवार्ड गरी १० विधा समावेश गरिएको छ ।
पहिलो पटक राजधानी बाहिर पोखरामा आयोजित २२औं सस्करणको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड यहि भदौ २९ गते हुने छ ।


Vote for himal sunari