नेपाल कुश्ती संघको नेतृत्व विवाद : कुसारी नेतृत्वको समिति नै आधिकारिक

पोखरा स्पोर्ट्स ।  नेपाल कुश्ती संघमा पछिल्लो समय देखिएको आन्तरिक विवाद र अन्योलतापूर्ण स्थितिप्रति संघले आधिकारिक प्रेस विज्ञप्ति जारी गर्दै, प्रकाश कुमार कुसारी नेतृत्वको कार्यसमिति नै नेपाल ओलम्पिक कमिटि र अन्तर्राष्ट्रिय मान्यता प्राप्त वैधानिक भएको स्पष्ट पारेको छ ।

संघका महासचिव खगेन्द्र बहादुर बस्नेतद्वारा जारी विज्ञप्तिमा केही व्यक्तिहरूले संघको नाममा अवैधानिक गतिविधि सञ्चालन गर्दै भ्रम फैलाइरहेको उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, “नेपाल कुश्ती संघले सबै सरोकारवालाहरूलाई यस्ता भ्रमपूर्ण गतिविधिबाट टाढा रहन, अवैधानिक गतिविधिमा संलग्न नहुन र कुनै पनि जानकारीका लागि आधिकारिक तथा मान्यता प्राप्त नेतृत्वसँग मात्र सम्पर्क गर्न आग्रह गर्दछ ।”

संघका अनुसार, राज मोहम्मद अन्सारी अध्यक्ष र समिम मियाँ अन्सारी वरिष्ठ उपाध्यक्ष रहेको समितिलाई २०७७ साल चैत ३ गतेको सर्वोच्च अदालतको फैसलाले खारेज गरिसकेको तर उक्त नेतृत्वको नाममा विभिन्न कार्यक्रम तथा उपस्थितिहरू भइरहेको भन्दै संघले त्यसप्रति गम्भीर ध्यानाकर्षण गराएको विज्ञप्तीमा जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ कि, “केही स्वघोषित व्यक्तिहरूको गतिविधिले अन्तर्राष्ट्रिय प्रतियोगिता तयारी र समन्वयमा गम्भीर असर पार्न सक्छ, जसले नेपाली कुश्तीको समग्र विकासलाई अवरुद्ध गर्ने खतरा रहेको छ । संघ यस्ता गतिविधिबाट सचेत रहन सबैलाई आग्रह गर्दछ ।”

संघले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ र राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ अनुसार हालको कार्यसमिति वैधानिक रूपमा गठन भएको स्पष्ट पार्दै विज्ञप्तीमा भनिएको छ, “२०८० चैत ९ गतेदेखि लागू नियमावलीअनुसार निर्वाचित वर्तमान कार्यसमिति नै वैधानिक तथा पूर्ण अधिकारप्राप्त नेतृत्व हो, र यससम्बन्धी सबै विवाद न्यायालयबाट टुंगो लागिसकेको छ ।”

नेपाल कुश्ती संघले समग्र खेलकुद समुदायलाई आधिकारिक सूचनाको लागि स्वीकृत संस्थागतमार्फत जानकारी लिन आग्रह गर्दै, कुश्ती खेलको विकासमा एकता र समन्वयको आवश्यकता दोहोर्‍याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close