‘खेलकुद विकासका लागि सुविधा सम्पन्न खेल मैदान’

पोखरा स्पोर्ट्स । चारैतिर दर्शकहरूको तछाडमछाड देखिन्छ। सबै जना उत्साहित मुद्रामा लाइनमा लाग्दै मैदानभित्र छिर्छन् । छिर्नासाथ उज्यालोमा चम्किरहेका सुविधा सम्पन्न खेल मैदानको दृश्यले सबैलाई मन्त्रमुग्ध बनाउँछ । चारैतिर प्याराफिटमा दर्शकहरू शान्त र अनुशासित ढंगले बस्दै रोचक खेलको प्रतीक्षा गरिरहेका हुन्छन् ।

कोर्टको वरिपरि डिजिटल बोर्ड तथा ब्यानरहरूमा विभिन्न प्रायोजक कम्पनीहरूले आफ्ना उत्पादन र सेवाको प्रचार गरिरहेका हुन्छन् । मुख्य प्रायोजकको ठूलो ब्यानरमुनि प्रतिस्पर्धी टिमका खेलाडीहरू आफ्नो सम्पूर्ण कौशल प्रदर्शन गर्दै प्रतियोगिता जित्न आतुर देखिन्छन् ।

हरिप्रसाद पराजुली पूर्व अन्तर्राष्ट्रिय भलिबल खेलाडी हुन् । खेलकुदको अशल अनुशासनमा खारिएका पराजुली सोझो कुरा भन्न र लेख्न रुचाउँछन् । खेलकदको कठोर तपस्याले खारिएका पराजुलीको पसिनामा समेत खेलकुद नै बग्छ । खेलकुदमा लागेर केही पाइन भन्ने विस्मात उनीमा छैन । न त कसै प्रतिको रोष । उनको यो लेख निकै उर्जाले भरिएको सँगै राज्यको खेलकुद प्रतिको दायित्व के हो भन्ने स्पष्टता झल्किन्छ ।

खेल सुरु भएपछि कमेण्टेटरहरू खेल र खेलाडीहरूको विवरण रोचक शैलीमा प्रस्तुत गरिरहेका हुन्छन्। मैदानको एक छेउमा सब्सिच्युट खेलाडीहरू ध्यानपूर्वक खेलको विश्लेषण गरिरहेका हुन्छन् ताकि आफ्नो पालोमा अझ राम्रो प्रदर्शन गर्न सकून् । आधुनिक प्रविधिबाट सञ्चालित स्कोर बोर्ड तथा प्रकाश व्यवस्था दिन वा रातको भेद नै नहोस् झैँ बनाइदिन्छ । मैदानका कुना–काप्चामा स्थापित ठूला घडीहरूले समयको सटीक जानकारी दिइरहेका हुन्छन्।

प्रत्यक्ष प्रसारण विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टेलिभिजन च्यानलहरू, रेडियो, छापा माध्यम, सामाजिक सञ्जाल र युट्युबमार्फत भइरहेका हुन्छन्। खेलाडीहरू विभिन्न कम्पनीका ब्रान्डेड पोशाक—जस्तै जुत्ता, मोजा, नी प्याड, टिसर्ट, हाफ पेन्ट, ह्याट आदि—मा सुसज्जित देखिन्छन्, जसले खेलकुदलाई अझ पेशेवर रूप दिन्छ।

खेल मैदानबाहिर दर्शकहरूको सुविधाका लागि खाद्य स्टलहरू रहेका हुन्छन् जसले उनीहरूको भोक–प्यास मेटाइरहेका हुन्छन् । त्यस्तै पार्किङ क्षेत्र व्यवस्थित छ, जहाँ दर्शक तथा अफिसियलहरूको सवारी साधन सजिलै राख्न मिल्छ ।

यो एक अन्तर्राष्ट्रिय स्तरको खेल प्रतियोगिताको यथार्थ चित्रण हो । तर, दुर्भाग्यवश, हाम्रो देशमा यस्तो दृश्य अझै परिकल्पनामा सीमित छ । यद्यपि, केही प्रयासहरू भइसकेका छन्, तर ती पर्याप्त छैनन् । राज्य वा सम्बन्धित खेल निकायले यस्ता संरचनात्मक योजना व्यवहारमा उतार्न जरुरी छ ।

अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको स्टेडियम, कभर्ड हल तथा अन्य खेल संरचनाहरू निर्माण गर्दा त्यसअनुसार गुणस्तरीय खेलाडी उत्पादन हुन सक्नेछ। यस्ता संरचनाका लागि पर्याप्त लगानी आवश्यक छ, जुन केवल खर्च होइन—दीर्घकालीन विकासको लगानी हो । यस्ता खेलमैदानहरू बनेपछि खेल सामग्री निर्माण, गार्मेन्ट उद्योग, कृषि उत्पादन, होटल व्यवसाय, टुर्स एण्ड ट्राभल्सजस्ता बहुआयामिक परियोजनाहरूको विकास सम्भव हुन्छ। यसले समुदाय तथा मुलुकमा सकारात्मक ‘चेन इफेक्ट्’ निम्त्याउँछ ।

यस्ता पूर्वाधारले नियमित प्रतियोगिता सञ्चालनका साथै रोजगारी सिर्जना, युवामा अनुशासन, स्वास्थ्य र राष्ट्रिय गौरव वृद्धि गर्न मद्दत गर्दछ । त्यसैले, खेलकुद विकासका लागि सुविधा सम्पन्न खेल मैदान निर्माण नै प्रमुख आधार हो । यसका लागि स्थानीय, प्रदेश तथा संघीय सरकारहरूले खेलकुदलाई विशेष प्राथमिकता दिई बजेट सुनिश्चित गर्नु अत्यावश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close