एभरेष्ट महिला भलिबल लिगः लुम्बिनी लाभाजमा रसियन खेलाडी जुवरेभ

पोखरा स्पोर्ट्स । एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणका लागि लुम्बिनी लाभाजले रसियन आउटसाइड हिटर भेरोनिका जुवरेभलाई अनुबन्धन गरेको छ । नेपाल भलिबल संघको सहकार्यमा इन्फिनिटी ड्रीम्स प्रा।लि।ले आयोजना गर्न लागेको प्रतियोगितामा जुवरेभले लुम्बिनी टिमको बलियो उपस्थिति जनाउने अपेक्षा गरिएको छ ।

रसियाका शीर्ष लिग र क्लबहरूमा अनुभव हासिल गरेकी जुवरेभ बलियो ब्लकिङ, तीव्र प्रतिक्रिया क्षमता र निर्णायक अंक दिलाउने कौशलताका लागि परिचित छिन् । टिमले उनलाई मिडल ब्लकर पोजिसनमा समेत प्रभावकारी खेलाडीका रूपमा प्रस्तुत गर्ने भएको छ ।

लुम्बिनी लाभाजकी टिम म्यानेजर स्तुती निरौलाले टिमलाई अझ सशक्त बनाउन निकट भविष्यमा थप दुई विदेशी खेलाडीको नाम सार्वजनिक गरिने तयारी भएको जानकारी दिएकी छन् । विदेशी खेलाडीको सहभागिताले टिमलाई प्रतिस्पर्धात्मक बनाउन मद्दत गर्ने उनको भनाइ छ ।

यसअघि सम्पन्न अक्सनमार्फत लाभाजले कप्तान अरुण शाहीसहित कमला विष्ट, अलिसा मानन्धर, सान्तीकला तामाङ, अनुषा चौधरी, रोमा महतो, जेनिशा विश्वकर्मा र रिकजना माझीलाई पनि अनुबन्धन गरिसकेको छ । खेलाडीहरू हाल प्रशिक्षणमा व्यस्त छन् ।

दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग आगामी भदौ २० देखि २८ गतेसम्म पोखरामा हुने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close