एनओसीले घोषित तदर्थ समितिलाई अमान्य ठहर गर्दै स्पष्टीकरण माग्यो

पोखरा स्पोर्ट्स । अन्तर्राष्ट्रिय ओलम्पिकबाट मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी)ले ध्रुव बहादुर प्रधान संयोजक रहेको एनओसीको तदर्थ समितिका सदस्यहरु संग स्पष्टिकरण माग गर्ने भएको छ ।

एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा शुक्रबार बसेको ३१औं कार्य समितिको बैठकले हालै घोषणा गरिएको तथाकथित तदर्थ समिति सम्बन्धी निर्णय गर्दै स्पष्टिकरण माग गर्ने भएको हो ।

बैठक पछि जारी विज्ञप्तीमा ओलम्पिक बडापत्र र नेपालको खेलकुद विकास ऐन २०७७ विपरीत घोषणा गरिएको नौ सदस्यीय तदर्थ समितिमा रहेका, एनओसीको विधान अनुसार सम्बन्धित ठहरिएका व्यक्तिहरूलाई सात दिनभित्र जवाफ पेश गर्न आग्रह गर्ने निर्णय भएको जनाइएको छ । सो निर्णयको जानकारी अन्तर्राष्ट्रिय निकायहरूलाई पनि पठाइने जनाइएको छ।

त्यसैगरी, बैठकले एनओसी, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी, एशियन ओलम्पिक काउन्सिलको लोगो तथा ओलम्पिक भवनको अनधिकृत प्रयोग तत्काल बन्द गर्न सम्बन्धित निकायलाई पत्राचार गर्ने र आवश्यक कारबाहीका लागि पहल गर्ने निर्णय गरेको जारी विज्ञप्तीमा जनाइएको छ ।

साथै, अध्यक्ष श्रेष्ठको नेतृत्वमा रहेको आधिकारिक ओलम्पिक कमिटीलाई आइओसी र एओसीको सहयोगमा निर्माण भएको ओलम्पिक भवन प्रयोगमा सहज बनाउन सरकारले पहल गर्नुपर्ने मागसहित पत्राचार गर्ने निर्णय पनि बैठकले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close