
पोखरा स्पोर्ट्स । चीनको हाइनान प्रान्तमा जारी ‘रोल्यान्ड गारोस जुनियर सिरिज टेनिस’मा ग्रुपतर्फ नेपाली खेलाडी दर्शिल श्रेष्ठले मिश्रित परिणाम निकालेका छन् ।

एसियाली टेनिस फेडेरेशनको आयोजना यहि अगस्त १८ तारिखबाट सुरू भएको प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा दर्शिलले जीत निकालेका छन् । उनले हङकङका वोङ कादेनलाई ७–६, ६–२ को सोझो सेटमा पराजित गरे ।
जारी प्रतियोगितामा नेपालबाट छनोट हुन सफल दर्शिलले दुई प्रतियोगितामा हार व्यहोरेका छन् । पहिलो दिनको खेलमा उनले चीनीया खेलाडी ययुन शुन्दु संग ६–२, ६–० ले र दोस्रो दिनको खेलमा भारतीय खेलाडी राजाप्रकाश आथ्रेय संग संघर्षपूर्ण खेलमा ७–५, ६–२ ले हार व्यहोरेका छन् ।
फ्रेन्च ओपन जुनियर टेनिसका लागि पहिलो चरणको छनौट रहेको प्रतियोगितामा साउथ एसिया र साउथ इष्ट एसियाका विभिन्न देशका २४ जना खेलाडीहरुले सिरिजमा सहभागिता जनाएका छन् ।
एसिया भित्रका विभिन्न जोनको सिरिजबाट छनौट हुने खेलाडीहरुको अन्तिम छनौट खेल भने जापानमा हुनेछ । उक्त छनौट खेल एसियालीस्तरको हुनेछ ।
चीनमा जारी प्रतियोगिता यहि अगस्त २५ तारिख सम्म सञ्चालन हुने छ ।
