एभरेष्ट महिला भलिबल लिग : मधेश युनाइटेडमा नेदरल्याण्ड्सकी रोमी भिनस्ट्रा

पोखरा स्पोर्ट्स । एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणका लागि मधेश युनाइटेडले नेदरल्याण्ड्सकी रोमी भिनस्ट्रालाई अनुबन्ध गरेको छ । मधेशले उनलाई पहिलो विदेशी खेलाडीको रूपमा सार्वजनिक गरेको हो ।

नेदरल्याण्ड्समा उदाउँदै गएकी प्रतिभाशाली खेलाडी भिनस्ट्रा १८८ से.मी. अग्लो कदकी आउटसाइड हिटर हुन् । सन् २०२१/२२ सिजनदेखि उनी नेदरल्याण्ड्सकै शीर्ष डिभिजन क्लब सुडोसा-डेस्टो का लागि खेल्दै आइरहेकी छिन् । आक्रमण र रक्षा दुवै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने उनले सन् २०२४ मा नेदरल्याण्ड्स युवा राष्ट्रिय च्याम्पियनसिप जित्न पनि सफल भएकी थिइन् ।

भिनस्ट्राको आगमनले टोलीलाई थप मजबुत बनाउने विश्वास मधेश युनाइटेडले जनाएको छ । निर्णायक खेलहरूमा उनका शक्तिशाली स्म्यास र स्थिर प्रदर्शनले उपाधि जित्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।

अनुबन्धपछि भिनस्ट्राले पनि मधेश युनाइटेडबाट खेल्न पाउँदा खुशी व्यक्त गर्दै नेपालमा खेल्न पाउने अवसरप्रति उत्साह देखाएकी छन् ।

मधेश युनाइटेडको मार्की खेलाडी निरुता ठगुन्ना रहेकी छिन् भने टोलीको ब्रान्ड एम्बेसडरमा मोडल तथा अभिनेत्री नीति शाह रहेका छन् ।

टोलीमा निरुतासहित आरती सुबेदी, कोपिला राना, सरस्वती कटेल, उषा बिष्ट, बबिता बोहोरा, बसन्ती साउद र स्नेहा ठगुन्ना रहनेछन् । टोलीलाई प्रशिक्षक कोपिला उप्रेतीले नेतृत्व गर्नेछिन् ।

इन्फिनिटी ड्रीम्सको आयोजनामा हुने वात्सल्य एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करण आगामी भदौ २० देखि २८ गतेसम्म (सेप्टेम्बर ५–१३) पोखरामा हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close