
पोखरा स्पोर्ट्स । पोखरा रंगशालाका पानी ट्याङ्कीहरु मर्मत सम्भार गरी पुनः सञ्चालनमा ल्याउने जिल्ला खेलकुद विकास समिति कास्कीले जनाएको छ ।
लामो समय देखि वेवारेसी रहेका ती पानी ट्याङ्कीहरुलाई मर्मत गरी पुनः सञ्चालनमा ल्याउन लागिएको हो । २०१९ मा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) सञ्चालनको वखत विभिन्न व्यक्ति तथा संस्थाहरुले खेलाडीहरुको सुविधाका लागि ती पानी ट्याङ्कीहरु सहयोग गरेका थिए ।
फिल्टरसहित सोझै पानी पिउन मिल्ने गरी राखिएका ६ वटा भन्दा बढि ट्याङ्कीहरुलाई मर्मत सम्भार गरी खेलाडीहरुको सुविधाका लागि सञ्चालनमा ल्याउन लागिएको जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरूङले पोखरा स्पोर्टसलाई जानकारी दिए । उनले मर्मतका लागि पोखरा महानगर पालिका वडा नं १० कार्यालयले समेत सहकार्य गर्न लागेको बताए । “केही ट्याङ्कीका फिल्टर समेत हराएका छन् । अब एकै ठाउँमा रहेका ति ट्याङ्कीहरु सबैको सहजताका लागि रंगशालाका विभिन्न ठाउँमा स्थान्तरण गर्दैछौं,” उनले भने ।
खेलकुदको केन्द्रको रुपमा चर्चित पोखरा रंगशालामा दिनहुँ जसो विभिन्न प्रतियोगिताहरु आयोजना हुने संगै पिउने पानीको अभावमा खेलाडीहरुलाई समस्या रहँदै आएको थियो । “पहिला जुन उद्धेश्यका साथ पानी ट्याङ्कीहरु राखिएका थिए । त्यसलाई पुनः सञ्चालनमा ल्याउन लागेका हौं,” अध्यक्ष गुरूङले भने–“सबै खेलाडीहरुले मिनरल वाटर किनेर खान सक्ने क्षमता हुँदैन । तर अब ट्याङ्की सञ्चालनमा आए पछि सबैका लागि सहज हुनेछ ।”
पोखरामा अहिले ओभरहेड पानी ट्याङ्की निर्माण सम्पन्न भए संगै पानीको अभाव निर्मुल भएको बताउँदै अब रंगशालामा सबैको सहजताका लागि शौचालय खुल्ला गर्ने तयारी भएको अध्यक्ष गुरूङले जानकारी दिए । “चाहे मर्निङवाकमा आउने हुन् वा खेलाडीहरुलाई अब पानीको अभाव रंगशालामा हुने छैन । हामी बन्द शौचालय सबैका लागि सहजताका लागि खुल्दै छौं,” उनले भने,“पानी प्रशस्त भएका कारण सरसफाइमा बढि जोड दिएका छौं । पानी अभावमा शौचालयहरु फोहोर हुने अवस्था अब सकिएको छ ।”
यसका साथै पोखरा रंगशालाको सौन्दर्यता बढाउन वृक्षारोपण र सरसफाइमा बढि जोड दिएको अध्यक्ष गुरूङले पोखरा स्पोर्टसलाई बताए ।
बिहान ५ बजेबाट साँझ ७ बजे सम्म व्यस्त हुने पोखरा रंगशालामा पानी ट्याङ्कीको जडानले खेलाडी र त्यहाँ प्रवेश गर्नेहरुका लागि सहजता हुने भएको छ ।
यसै बीच, पोखरा समाज अष्ट्रेलियाले समेत कोभिड १९ को समयमा पोखरा रंगशालाका लागि दुई थान पानी ट्याङ्कीसहित सेनिटाइजर मेसिन समेत उपलब्ध गराएको थियो । जुन अव पुनः सञ्चालनमा आउने भएको छ ।
